आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’ एक हप्ताअगाडि प्रिपोन्ड भएको छ। यो मितिमा आगामी कात्तिक ४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘परदेशी २’ एक हप्ताअगाडि असोज २६ मा प्रिपोन्ड भएपछि ‘वानर सेना’ निर्माताले आफूलाई अन्याय भएको भन्दै निर्माता संघमा उजुरी दिएका थिए।
निर्माता संघको न्यायिक समितिले बिहीबार दुवै फिल्मका निर्माण टिमलाई राखेर छलफल गराएको थियो। छलफलमा समितिका सभापति उदय सुब्बा, निर्माता संघका कार्यसमिति सदस्य किरण नेपाली, वितरक करण श्रेष्ठ, ‘वानर सेना’ का निर्माता युवराज गिरी र ‘परदेशी २’ का निर्माता राजेश वंशल सहभागी थिए।
छलफलमा दुवै फिल्मका निर्माताबीच मिलेर जाने सहमति भएसँगै ‘वानर सेना’ एक हप्ताअगाडि असोज १९ गते र ‘परदेशी २’ असोज २६ मा प्रदर्शन हुने पक्का भएको छ। उक्त सहमति र सहकार्यले नेपाली फिल्म उद्योगमा नयाँ सन्देश जाने विश्वास ‘वानर सेना’ निर्माता गिरीले बताए। यता वितरक करण श्रेष्ठले सिनेमा एक हप्ता प्रिपोन्ड भएपछि आफूले वानर सेनाको प्रचारप्रसारमा समेत सहयोग गर्ने बताएका छन्।
गिरी ग्रान्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बाँस्कोटाले अभिनय गरेका छन्।
अर्पण गिरीको डेब्यु निर्देशनमा निर्माण भएको फिल्ममा विनोद सापकोटाको छायांकन, रवि केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र बन्दे प्रसादको सम्पादन छ।
फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन्। युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन्।
Shares
प्रतिक्रिया