नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच आय बाँडफाँटको विषयमा सहमति भइसकेको छ।
‘दिमाग खराब’टिमले गरेको विद्रोहपछि अब निर्माताहरू फिल्म प्रदर्शन हुन्जेल ५० प्रतिशत सेयर पाउनेछन्।
सेयर बाँडफाटसहित निर्माता संघ र नेपाल चलचित्र संघबीच ६ बुँदे सम्झौता भएको छ। जसमा सेयर बाँडफाँटसहित स्थानीय करको विषयलाई पनि समेटिएको छ।
सम्झौताको तेस्रो बुँदामा तत्कालका लागि मनोरञ्जन कर पूर्णरूपमा खारेजी गर्न सरकारलाई दबाब दिन मिलेर अगाडि बढ्ने सम्झौता भएको छ। साथै, चलचित्र विकास शुल्कको दर ५ प्रतिशत कायम गर्न दुवै संघ सहमत भएको सम्झौतापत्रमा उल्लेख छ।
सम्झौतापत्रको बुँदा नं ३ मा लेखिएको छ, ‘नेपाल सरकार र नेपाल चलचित्र संघबीच मूल्य अभिवृद्धि कर (भ्याट) भएपछि अन्य कुनै कर वा शुल्क नलगाउने भन्ने भद्र सहमतिविपरीत हाल चलचित्र विकास शुल्क र मनोरञ्जन कर लागू गरी चलचित्र प्रदर्शकहरूप्रति गरिएको अन्यायपूर्ण व्यवहारमा नेपाल चलचित्र निर्माता संघ सहमति गर्दै नेपाल चलचित्र संघले चाल्ने हरेक कदमहरूमा सहकार्य गर्दै एकताबद्ध भई हिँड्न प्रतिबद्ध रहने सहमति व्यक्त गर्दछ। तत्कालका लागि स्थानीय मनोरञ्जन कर पूर्णरूपमा खारेजी र चलचित्र विकाश शुल्कको दर ५ (पाँच) प्रतिशत कायम गर्न दुवै संघ सहमति गर्दछ।’
हाल नेपाली फिल्मवापत् हल सञ्चालकहरूले ५ प्रतिशत स्थानीय तथा मनोरञ्जन कर तोकिएको छ। त्यसैगरी, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी १८ प्रतिशत कर सरकारलाई बुझाउँछन्। त्यसैगरी, विदेशी फिल्मवापत् भने हलले ३३ प्रतिशत कर राज्यलाई बुझाउनुपर्छ।
नेपाली चलचित्रले चलचित्र विकास शुल्क तिर्नुपर्दैन। तर, विदेशी सिनेमाको हकमा भने चलचित्र विकास बोर्डलाई १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। जुन शुल्क ५ प्रतिशत कायम गर्न निर्माता संघ र चलचित्र संघले मिलेर दबाब दिने सम्झौता भएको हो । यो शुल्क घटाएमा हल सञ्चालकलाई फाइदा मिल्नेछ।
Shares
प्रतिक्रिया