बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्ने भएकी छिन्। सिन्हाले प्रेमी तथा बलिउड अभिनेता जहीर इकबालसँग आगामी जुन २३ (असार ९) मा मुम्बइमा विवाह गर्न लागेकी हुन्।
भारतीय समाचार माध्यमहरुका अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्। यस बाहेक सोनाक्षीको हालै रिलिज भएको वेब सिरिज ‘हिरामन्डी’ को स्टारकास्टलाई पनि निम्तो दिइने छ।
सोनाक्षीको विवाहको निमन्त्रणा पत्रिकाको कभर जस्तै डिजाइन गरिने छ। यसमा लेखिनेछ– ‘अफवाह सत्य हो’।
बिहेमा सहभागी सबै पाहुनाहरुलाई औपचारिक रुपमा उपस्थित हुन अनुरोध गरिएको छ। यो उत्सव बेस्टियन मुम्बईमा हुने सम्भावना छ। यस रेष्टुरेन्टकी मालिक बलिउड अभिनेत्री शिल्पा शेट्टी हुन्।
सोनाक्षी र जहीर लामो समयदेखि प्रेम सम्बन्धमा छन्। तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन्। कुनै आधिकारिक घोषणा पनि गरेका छैनन्।
दुबैको सामाजिक सञ्जाल पोष्टले उनीहरुको सम्बन्धको खुलासा गरेको छ। हालै सोनाक्षीको जन्मदिनमा पनि जहीरले अभिनेत्रीसँग धेरै तस्बिर सेयर गरेका थिए।
३६ वर्षीय जहीर इकबालले २०१९ मा फिल्म ‘नोटबुक’ बाट डेब्यू गरेका थिए। यसपछि उनी २०२२ मा सोनाक्षी सिन्हा र हुमा कुरैशी स्टारर फिल्म ‘डबल एक्सएल’ मा देखिएका थिए।
६ वर्षको करियरमा जहीरले दुवै फिल्ममा गरेपनि यी फिल्महरु बक्स अफिसमा सफल भएनन्।
सोनाक्षी यतिखेर ‘हिरामन्डी’ को कारण चर्चामा छिन्। उनी छिट्टै ‘काकुडा’ र ‘निकिता रोय’ जस्ता फिल्ममा देखिनेछिन्।
Shares
प्रतिक्रिया