अस्ट्रेलियामा जंगलमा हराएकी एक ४८ वर्षीय महिला पाँच दिनसम्म ललिपप र एक बोतल वाइनको भरमा बाँचेकी छन्।
लिलियन इप नामक ती महिला भिक्टोरिया राज्यमा छोटो यात्राका लागि कार चढेर निस्केकी थिइन्। तर, गलत बाटो पक्रिएपछि उनी अनकण्टार स्थानमा पुगिन्। उनको गाडी हिलोमा फस्यो।
मदिरा नपिउने उनको गाडीमा एक बोतल वाइन थियो– आमालाई उपहार दिन बोकेको।
पाँच रातपछि शुक्रबार उद्धारकर्ताहरुले हेलिकोप्टरबाट खोज्दै जाँदा उनलाई फेला पारे।
‘मेरो दिमागमा आएको पहिलो कुरा भनेको पानी र चुरोट थियो,’ उनले भनिन्, ‘धन्य भगवान् एक महिला प्रहरीसँग चुरोट रहेछ।’
‘मलाई त त्यहीँ मर्ने रहेछुजस्तो लागेको थियो। शुक्रबार त मेरो पुरै शरीर बन्द भयो। म हरेश खान लागेकी थिएँ,’ उनले थपिन्।
आफू फेला पर्ने आशा मारेर उनले परिवारका नाममा विदाइ चिठी पनि लेखसकेकी थिइन्।
नजिकैको सहर उनी अड्किएको ठाउँबाट ६० किलोमिटर टाढा थियो। तर, टाढासम्म हिँड्न नसक्ने रोग लागेकी उनी कारमै बसिरहेकी थिइन्।
खानलाई उनीसँग ललिपपबाहेक केही थिएन। पानी पनि थिएन।
‘लिलियनसँग पिउने कुरा भनेको त्यही एक बोतल वाइन थियो,’ प्रहरीले भनेको छ।
उनलाई उद्धारपछि डिहाइड्रेसनको उपचारका लागि अस्पताल लगिएको थियो। त्यसपछि उनी निको मेलबर्नस्थित घर फर्किसकेकी छन्। बीबीसी
Shares
प्रतिक्रिया