स्वभावैले केटाकेटी अलिक चञ्चले र चकचके हुन्छन्। झन् स्कुल जाने उमेर पुगेपछि अभिभावकलाई सबैभन्दा कठिन हुने विषय नै छोराछोरीलाई स्कुल पठाउन हो।
आफ्ना छोराछोरीलाई खुसी बनाउने, चिडिएको बेला फकाउने काम त संसारमा हरेक बा-आमाको नियमित कर्मजस्तै हुन्छ नै। तर एक दम्पतीले स्कुल जान नमानेर रिसाएकी छोरीलाई विलासी एसयूभी कार मर्सिडिज उपहार दिएका छन्।
यो घटना मलेसियाको हो। मलेसियाकी व्यापारी फर्हाना जाहरा र उनका श्रीमान् छोरीको स्कुल जान नमान्ने स्वभावले हैरान थिए। अन्तत: छोरी फकाउन उनीहरूले मर्सिडिज कार नै किनेर उपहार दिएका छन्।
फर्हानाले आफ्नो टिकटक अकाउन्टमा एउटा भिडिओ पोस्ट गरेकी छन्। जहाँ उनले छोरीलाई सोधिरहेकी छन्, 'तिमी जन्मदिनमा के उपहार चाहन्छौ?' जवाफमा छोरी फातिमा भन्छिन्- मर्सिडिज वा बीएमडब्लु कार। त्यसपछि फर्हाना भन्छिन् 'त्यसपछि नियमित स्कुल जानुपर्छ ल!' फातिमा, 'हुन्छ' जवाफ दिन्छिन्।
घटना गत अप्रिलको हो। अप्रिल १० अर्थात् फातिमाको जन्मदिनमा फर्हानाले टिकटकमा अर्को भिडिओ पोस्ट गरेकी छन्। भिडिओमा फातिमाको आँखामा पट्टी बाँधेर मर्सिडिज कार उपहार दिएको देख्न सकिन्छ। उक्त कार पाएपछि फातिमा खुसीले उफ्रिँदै चाबी हेरिरहेको देख्न सकिन्छ।
अडिटी सेन्ट्रल न्युज एजेन्सीका अनुसार फर्हानाले छोरीलाई स्कुल पठाउन प्रोत्साहन गर्नका लागि उपहार दिएको बताएकी छन्।
कारको मूल्य ४ लाख ५० हजार अमेरिकी डलर रहेको छ।
Shares
प्रतिक्रिया