पोखराको सेती खोंचमा खसेकी बालिकाको निधन भएको छ।
पोखरा १५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा खसेर १२ वर्षीया स्मृति पराजुलीको निधन भएको हो।
पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नको लागि सो ठाउँ पुगेकी थिइन्। शनिबार दिउसो करिब ३ बजेतिर उनी एक्सासी खोंचमा खसेको कास्की प्रहरीले जनाएको छ।
बालिका खसेसँगै जनपद र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। प्रहरीले करिब ५ बजेतिर उद्धार गरे पनि अस्पतालले उनलाई मृत घोषित गरेको हो।
सधैं असुरक्षित
पोखरालाई दुई भागमा चिरेर बग्छ–सेती नदी। कतै लुक्दै, कतै देखिँदै बग्नु यो नदीको विशेषता हो।
अन्नपूर्ण हिमालबाट निस्कने यो नदीको अस्तित्व देवघाट पुगेपछि सकिन्छ। देवघाटमा त्रिशुलीसँग मिसिन्छ– सेती।
डेनियल सि टेलर र जेनिफरले सन् १९७१ लुकेको सेतीको ३ किलोमिटर क्षेत्रमा र्याफ्टिङ गरे। हिमाल र यतीबारे लामो अनुसन्धान गरेका उनको यो अभियानसँगै सेती विश्वमाझ चिनियो।
गोर्खा दक्षिणबाहुले सम्मानित डेनियलले सेती चिनाउनुअघि नै नेपालीले सेतीका अनेकौँ किस्सा नसुनेका भने होइनन्। सेतीसँग महाभारतकालीन समय जोडिएको छ, पोखरेलीको सभ्यताको कथा, केआइ सिंहको वीरता अनि वियोगान्तक कहानीहरु पनि जोडिँदै आएका छन्।
२०६५ साल असार १० गते साढे २ वर्षीया बालिका आराधना प्रधान पृथ्वीचोक नजिकको सेती खोंचमा खसिन्। सेतीखोचमा खसेकी ती बालिकाको २२ घण्टापछि सकुशल उद्धार गरियो।
उद्धार गर्ने १२ वर्षीय कमल नेपाली राष्ट्रिय हिरो भए। यो घटनापछि धेरैको ध्यान सेतीतिर तानियो।
सेतीको किनारा असुरक्षित भएको र त्यहाँ तारजाली लगाउनुपर्ने माग पनि उठ्यो। तर, यतिका वर्षहुँदा पनि सेती किनारमा तारजाली लगाइएको छैन।
अहिले पनि सेती किनार उस्तै छ। यसले कहिले संसारदेखि भाग्न चाहनेहरुलाई लुकाउँछ त कहिले बाँच्ने चाहना हुनेहरुलाई पनि शिकार बनाउँछ।
२०७६ सालको माघ महिनामा पनि एक युवा सेती खोंचमा खसेका थिए। खोंचमा खसेको कुकुरलाई बचाउन खोज्दा उनी खोचमा खसेका थिए।
७० मिटर गहिरो खोंचबाट उनको उद्धार गरिएको थियो।
भू–गर्भविद कृष्ण केसीका अनुसार पोखराको भूबनौट र सेतीको अवस्थितिबारे व्याख्या गर्दै भनेका थिए, ‘यहाँको भूबनौट नै भ्वाङ पर्ने खालको छ भने सेतीको बहावले यसका किनारका जग्गा भास्सिने र चिरिने नियमित प्रक्रिया हुन्। यसरी जग्गा चिरिँदा त्यहाँ असुरक्षा हुन्छ नै।’
पोखरा–९, पृथ्वीचोक क्षेत्रतिर सेती किनारामा धेरै भ्वाँङ र खोंच रहेका छन्। ती खोचमा परेपछि मान्छे कहाँ गयो थाहै हुँदैन।
सेतीमा मान्छे वा जनावर खसेको बेला सुरक्षाको कुरा उठ्छ तर केही समयपछि यो आफै हराउँछ। पोखरा महानगरपालिकाले सेतीको मापदण्ड ५ देखि ३० मिटरसम्म कायम गरेको छ।
५ देखि ३० मिटरसम्मको मापदण्ड सेतीमा कायम गरिएको छ।
नारायणस्थान पुलदेखि पुरानो र बाक्लो बस्ती भएको ठाउँ महेन्द्रपुल हुँदै राममन्दिर तुलसीघाटसम्म ५ मिटर जौवारी बाँधदेखि केआइ सिंह पुलसम्म १० मिटर मापदण्ड छ।
बस्ती नभएको कालीखोलाको साँधदेखि नारायणस्थानसम्म २५ मिटर र अरु ठाउँमा ३० मिटर मापदण्ड कायम गरिएको छ।
पोखरा महानगरले सेती खोंचलाई पर्यटकीय गतिविधिको क्षेत्र बनाउने योजना अगाडि सारेको सेतीको घाइघाटबाट रातोपैह्रोसम्म क्यानोनिङ संचालन गर्ने गरी सम्झौता भएप पनि परियोजनाले गति भने लिएको छैन।
Shares
प्रतिक्रिया