ad ad

ग्लोबल


न्युयोर्कबाट अर्बपति जर्ज सोरोसले ‘मोदीको पकड कमजोर हुँदैछ’ भन्दा भारतमा खैलाबैला

न्युयोर्कबाट अर्बपति जर्ज सोरोसले ‘मोदीको पकड कमजोर हुँदैछ’ भन्दा भारतमा खैलाबैला

नेपालखबर
फागुन ६, २०७९ शनिबार १७:१, काठमाडौँ

मोदी सरकारको विषयमा अर्बपति जर्ज सोरोसले दिएको अभिव्यक्तिले भारतमा खैलाबैला निम्त्याएको छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्बपति गौतम अदानीको भाग्य आपसमा गाँसिएको र मोदीको पकड कमजोर हुँदै गएको बताएपछि सत्तारुढ भारतीय जनता पार्टीका नेताहरु उनीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्।

भाजपाले ९२ वर्षीय सोरोस भारतीय लोकतन्त्रलाई भत्काउन लागिपरेको आरोप लगाएको छ।

विपक्षी दल कंग्रेसले भने सोरोसको अभिव्यक्तिबाट आफूलाई अलग गरेको छ।

के भनेका थिए सोरोसले?
बिहीबार म्युनिख सेक्युरिटी कन्फ्रेन्समा सोरोस भारत र मोदीको विषयमा बोलेका थिए। 

‘भारत चाखलाग्दो विषय हो। यो लोकतन्त्र हो। तर, भारतका नेता नरेन्द्र मोदी लोकतान्त्रिक होइनन्। उनको उदयको एउटा महत्वपूर्ण पक्ष मुस्लिमविरुद्धको हिंसा थियो। मोदी खुला र बन्द दुवै समाजसँग निकट सम्बन्ध राख्छन्। भारत क्वाडको सदस्य पनि हो, जसमा अस्ट्रेलिया, अमेरिका र जापान सदस्य छन्। तर, भारतले भारी छुटमा रुसी तेल किन्छ र त्यसबाट धेरै पैसा कमाउँछ,’ उनले भने।

मोदीका निकटस्थ अदानीले व्यवसायमा गलत अभ्यास गरेको आरोप सर्ट सेलर हिन्डेनबर्गले लगाएको थियो। त्यसपछि अदानीका सेयरहरुको मूल्यमा पहिरो गएको थियो।

यो घटनाले भारतमा ‘लोकतन्त्र ब्युँतिने ढोका खुल्ने’ सोरोसले बताएका थिए।

‘मोदी र बिजनेस टाइकुन अदानी निकट मित्र हुन्। उनीहरुको भाग्य आपसमा गाँसिएको छ। अदानीलाई सेयर हेरफेर गरेको आरोप छ र उनको सेयर तासको घरजस्तै ढल्यो। मोदी यो विषयमा बिल्कुल चुप छन्। तर, उनले विदेशी लगानीकर्ता र संसदसामु जवाफ दिनुपर्ने हुन्छ,’ सोरोसले भनेका थिए।

अदानी–हिन्डेनबर्ग विवादले लगानी गर्ने अवसरका रुपमा निर्मित भारतको छवि भत्किएको पनि उनले बताए।

‘यसले भारतको संघीय सरकारमा मोदीको पकडलाई निकै कमजोर तुल्याउनेछ। र, यसले अति आवश्यक संस्थागत सुधारका लागि ढोका खोल्नेछ। म अलि सोझो हुनसक्छु। तर, यसले भारतमा लोकतान्त्रिक पुनरोत्थान हुने मेरो अपेक्षा छ।’

भाजपाको चर्को प्रतिक्रिया
सोरोसको भनाइको सत्तारुढ दलले चर्को विरोध गरेको छ। विदेशमन्त्री एस जयशंकरले सोरोस खतरनाक भएको आरोप लगाए।'

‘केही वर्षअघि उनले हामीमाथि करोडौँ मुस्लिमहरुलाई नागरिकताविहीन बनाउन खोजेको आरोप लगाएका थिए। त्यसो त भएन। यो हास्यास्पद आरोप थियो। तर, यसको वास्तविक अर्थ के हो, बुझ्न जरुरी छ। मेरो के विचार छ भने सोरोस न्युयोर्कमा बसिरहेका एक वृद्ध, धनी र हठी व्यक्ति हुन्। जो अझै पनि मैले भनेजसरी नै संसार चल्नुपर्छ भन्ने सोच्छन्,’ जयशंकरले अस्ट्रेलियामा भने।

‘म यतिमै रोकिएँ भने त्यसले पुग्दैन। उनी वृद्ध, धनी हठी र खतरनाक छन्। किनभने यस्ता व्यक्तिले भाष्य निर्माणमा लगानी गर्छन्,’ जयशंकरले थपे, ‘उनीजस्ता मान्छे आफूले चाहेको व्यक्तिले जिते चुनाव राम्रो हो भन्छन्। तर, फरक नतिजा आए त्यसलाई त्रुटिपूर्ण लोकतन्त्र भन्छन्। र, सुन्दर कुरा के छ भने यो सब उनीहरु खुला समाजको वकालतको बहानामा गर्छन्।’

मन्त्री स्मृति इरानीले पनि मोदीलाई लक्षित गरेर सोरोसले भारतको लोकतन्त्र भत्काउन खोजेको आरोप लगाइन्।

‘एउटा विदेशी शक्तिले, जसको केन्द्रमा जर्ज सोरोस छन्, उनले भारतको लोकतान्त्रिक संरचना भत्काउने घोषणा गरेका छन्। उनले आफ्नो प्रमुख निसाना प्रधामन्त्री मोदी हुने घोषणा गरेका छन्,’ उनले भनेकी छन्।

आफ्नो षड्यन्त्र सफल पार्न सोरोसले भारतको सत्ता परिवर्तन गर्न खोजेको आरोप समेत लगाइन्।

को हुन् सोरोस?
हंगेरीमा यहुदी परिवारमा जन्मेका सोरोस नाजीहरु आएपछि १७ वर्षको उमेरमा भागेका थिए। १९४७ मा लन्डन पुगेका उनले अध्ययनपछि बैंकमा काम गरे। १९५६ मा अमेरिका सरेका उनले हेज फन्ड म्यानेजरका रुपमा काम गर्न थाले। 

हिम्मतिलो र विवादास्पद निर्णयहरुका कारण उनी वित्तीय दुनियाँमा चर्चित बने। उनलाई ब्यांक अफ इंग्ल्यान्ड ध्वस्त पारेको आरोप पनि छ। 

हाल ८.५ अर्ब डलर सम्पत्ति भएका उनी ओपेन सोसाइटी फाउन्डेसनका संस्थापक हुन्। जुन संस्थाले पैसा दिएर विश्वभर लोकतन्त्र, पारदर्शिता, वाक् स्वतन्त्रताको प्रबद्र्धन गर्छ। जसका शाखा अनेकौँ देशहरुमा छ। तर, यो संस्थाको आडमा सोरोसले अन्य मुलुकमा सरकार ढाल्न हस्तक्षेप गर्ने गरेको आरोप पनि छ। 

कतिपय मुलुकले सो संस्थाको गतिविधिमा प्रतिबन्ध लगाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .