अमेरिकासमेत विश्वका सात राष्ट्रको समूह (जी–७) ले जारी गरेको विज्ञप्तिप्रति चीनले तीव्र असन्तुष्टि व्यक्त गरेको छ।
जापानमा जारी जी–सेभेन (क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका) को सम्मेलनका क्रममा यसका नेताहरूले दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको ‘हस्तक्षेप’लगायतका विषयमा बेइजिङलाई लक्ष्य गरी विज्ञप्ति जारी गरेका छन्।
त्यसप्रति चीनले शनिबार तीव्र असन्तुष्टि व्यक्त गरेको हो। जी–७ ले जारी गरेको वक्तव्यमा चीनलाई ‘हस्तक्षेपकारी गतिविधि नगर्न’ चेतावनी दिइएको छ भने विशेषगरी तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा मानवअधिकार उल्लंघन भएको आरोप लगाइएको छ।
यस्तै जी–७ ले युक्रेनमा जारी आक्रमण अन्त्य गर्न रुसलाई दबाब दिन पनि चीनलाई आग्रह गरेको छ।
यस विषयमा चीनको विदेश मन्त्रालयले शनिबार साँझ जवाफी प्रतिक्रिया दिँदै जी–सेभेनको दृष्टिकोणको कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको टिप्पणी गरेको छ।
‘जी–७ ले चीनसँग सम्बन्धित विषयमा छेडछाड गर्ने, चीनलाई बदनाम गर्ने र आक्रमण गर्ने कुरामा मात्र जोड दिएको छ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जी–सेभेनको आधिकारिक धारणाप्रति चीन तीव्र असन्तोष र कडा विरोध गर्छ।’
जी–सेभनले शान्तिपूर्ण, स्थिर र समृद्ध विश्वतर्फ अघि बढ्न चाहेको बताउने गरे पनि उसका निर्णयले क्षेत्रीय स्थिरतालाई कमजोर पारिरहेको र अन्य देशको विकासमा बाधा पुर्याइरहेको आरोप चीनले लगाएको छ। एएफपी
Shares
प्रतिक्रिया