ad ad

ग्लोबल


हिजबुल्लाह-इजरायल युद्ध : बुधबार भए यस्ता घटना

हिजबुल्लाह-इजरायल युद्ध : बुधबार भए यस्ता घटना

इजरायली आक्रमणले बेरुतमा क्षतिग्रस्त भवन।


नेपालखबर
असोज १७, २०८१ बिहिबार ६:२३, काठमाडौँ

हिजबुल्लाहविरुद्ध इजरायली सेनाले लेबनानमा स्थलगत (जमिनबाट) हमला सुरु गरेपछि इरानले मंगलबार राति इजरायलमा झन्डै २०० मिसाइल प्रहार गरेको छ। त्यसयता मध्यपूर्वको अवस्था झनै बिग्रिएको छ।

इरान, हिजबुल्लाह र इजरायलबीच जारी यो द्वन्द्वमा अक्टोबर २ अर्थात् बुधबार के के भए? 

हिजबुल्लाह र इजरायलबीच झडप जारी छ।

इजरायली सेनाले आफ्ना सैनिकहरू लेबनानमा ४०० मिटर भित्र पसेको बताएको छ। इजरायली सेनाले हिजबुल्लाहसँगको भिडन्तमा आफ्ना ८ सैनिकको मृत्यु भएको जानकारी दिएको छ।

यसैबीच लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए) ले दक्षिणी लेबनानको अटारोनमा इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएको जनाएको छ। यसअघि इजरायली सीमासँग जोडिएको डेबेल गाउँमा पनि ३ जनाको मृत्यु भएको पुष्टि भएको थियो।

मध्यपूर्वको तनावपूर्ण अवस्थाका विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्‌कालीन बैठक बसेको छ।

बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा फैलिएको युद्धको आगलागी अहिले तीव्र बन्दै गएको बताएका छन्। उनले इरानले इजरायलमा गरेको मिसाइल आक्रमणको पनि निन्दा गरेका छन्।

गुटेरेसले समय हातबाट फुत्किन लागेको र तत्काल युद्धविराम आवश्यक रहेको बताए।

यसअघि इजरायलले राष्ट्रसंघका महासचिवलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

इजरायलले राष्ट्रसंघका महासचिवले इरान, हमास र हिजबुल्लाहले इजरायलमा गरेको आक्रमणको निन्दा नगरेको बताएको थियो।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतले इरानले इजरायलमा गरेको मिसाइल आक्रमणलाई मध्यपूर्व क्षेत्रमा तनावमा ठूलो वृद्धि भएको बताए।

लिन्डा ग्रिनफिल्ड थोमसले सुरक्षा परिषद्‌ले तुरुन्तै कदम चाल्न आवश्यक रहेको बताएका छन्। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा निकायका प्रमुख र रक्षामन्त्री याभ गालान्टसँग तेल अभिभमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .