सुडानको राजधानी खार्तुममा भएको चर्को लडाइँमा ओमरका छिमेकी मारिए। छिमेकी मात्रै होइन, चिहानघर जस्तो बन्यो बस्ती।
मारिएका कम्तीमा २० जनालाई छिमेकीको घरमा गाडेको बताउँदै उनी भन्छन्, ‘तीन जनालाई घरभित्र भुइँमा र बाँकीलाई बाहिरपट्टी गाडिदिएँ।' खार्तुममा ढोका खोल्दा लास लुछ्दै गरेका कुकुर नदेखिने विरलै हुने उनी बताउँछन्।
'मेरा छिमेकी घरमै मारिए, मैले केही गर्न सकिनँ। भुइँका टाइल हटाएँ, चिहान खनेँ र उनीहरूलाई घरभित्रै गाडिदिएँ,' उनी भन्छन्।
गत १५ अप्रिलयता खार्तुममा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच युद्ध जारी छ। बीच-बीचमा हुने युद्धबबिरामको बेला पनि छतभरि स्पिनरहरू देखिने र एकले अर्कोलाई मार्ने गरेको उनले देखेका छन्।
हिंसाका कारण ओमरसहित स्थानीयले शवलाई चिहानसम्म लग्न पनि सकेका छन्। ओमर भन्छन्, 'गर्मीले लास सडिरहेका छन्, हामी के गर्न सक्छौँ? खार्तुमका धेरै घर चिहानमा परिणत भइसके।'
तीन हप्ताअघि, ओमरले खार्तुमको अल इम्तिदाद जिल्लामा रहेको आफ्नो घरबाट केही मिटर टाढा सडक छेउमा चिहान खनेका थिए।उनले वरपरका क्षेत्रमा आफूजस्तै यस्तो काम गर्ने केही व्यक्तिलाई चिनेको बताए। उनका अनुसार मारिएका अधिकांशलाई खार्तुम विश्वविद्यालय नजिकैको क्षेत्रमा गाडिएको छ। अन्य शवहरू मोहम्मद नागुइब रोड नजिकैको क्षेत्रमा गाडिएको थियो।
यद्यपि घर र छिमेकमा कति शव गाडिएका छन्? यसको आधिकारिक तथ्यांक छैन। ओमर भन्छन्, 'दर्जनौँ हुनसक्छन्।'
२० वर्षदेखि खार्तुममा बस्दै आएका एक सम्पत्ति एजेन्ट हमिदले सेनाको विमान दुर्घटना भएपछि राजधानीबाट १२ किलोमिटर टाढा बाहिरी इलाकामा तीन सैनिक गाडिएको बताए। ‘त्यतिबेला म त्यही क्षेत्रमा थिएँ। मसहित ६ जना साथीहरू मिलेर विमानका भग्नावशेषबाट शव निकाल्यौँ, शम्बतको आवासीय क्षेत्रमा गाड्यौँ।'
हामिद यतिबेला जतिसक्दो चाँडो शव गाड्नु नै मानवीय काम भएको बताउँछन्। 'हामीले शव कहाँ गाडिरहेका छौँ भन्ने महत्वपूर्ण होइन, दाहसंस्कार एक प्राथमिकता मात्र हो, मावनीय कार्य होइन,' उनी भन्छन्, 'बाहिर जताततै स्पनिर छन्, चिहानसम्म पुर्याउन कठिन छ।'
लासलाई यस्तै छाडे सडेर दुर्घन्ध फैलिने, रोगहरू लाग्ने र कुकुरले लुछेर मासु यत्रतत्र पार्ने भन्दै उनले जतिसक्दो चाँडो जहाँ भए पनि शव गाड्नेगरी काम गरिरहेको बताए।
'यो एक धार्मिक साथै नैतिक जिम्मेवारी हो। एक नराम्ररी जलेको शवको तस्बिर अझै दिमागमा छ, तीन जनालाई गाडेपछि म स्तब्ध भएँ,' हामिद भन्छन्, ‘म अनिद्राको शिकार भएँ, मुस्किलले एकपटक मात्रै खाना खाएँ।'
तर, चिकित्सक संघका प्रमुख सुडान डाक्टर ट्रेड युनियन समितिका महासचिव डा. अतिया अब्दुल्लाले घर र सार्वजनिक स्थानमा शव गाडेकोमा आलोचना गरेका छन्।
उनीसँग युद्ध अपराधको मुद्दा चलाउने केही अनुभव छ। सोहीअनुसार बढ्नुपर्ने उनको बुझाइ छ। घर र आवासीय क्षेत्रमा बेवारिसे शव गाड्दा मृत्युको प्रमाण पूर्ण रूपमा मेटिने उनी बताउँछन्। 'युद्ध सकिएपछि पहिलो प्रश्न उठ्छ कि मृत्युको कारण के थियो? मारिएकाहरुको पहिचान के थियो? लुटपाटका क्रममा कसको हत्या भयो र विद्यमान तनावका कारण कसको हत्या भयो? यी सबै कुराहरूले हामीलाई गृहयुद्धको बारेमा महत्त्वपूर्ण जानकारी दिनेछन्,' उनले भने।
यसरी लास गाड्दा लाससँगै प्रमाण गाडिने उनी बताउँछन्।
समयमै शव पहिचान गरी सम्मानपूर्वक गाड्नुपर्ने उनको भनाइ छ। उनले शव गाड्ने काम रेडक्रस र सुडानी रेड क्रिसेन्ट जस्ता स्वास्थ्य अधिकारीहरूलाई छोडिदिनुपर्ने बताए। भन्छन्, 'युद्ध रोक्न दुवै पक्षमा अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्छ। हामीले रेडक्रस र रेड क्रिसेन्टमा सबै जिम्मेवारी भने छोड्नु हुँदैन।'
अन्त्येष्टी गर्नुअघि मृतकको तस्बिर खिचिएको बताउने ओमर र हामिदले भने भविष्यमा पहिचान गर्न सकिने बताए।
तर उनीहरूलाई कुनै पनि आधिकारिक संस्थाले यसरी शव गाड्ने अधिकार भने दिएको छैन। रोग फैलिने र कुकुरलगायतका जनावरले शव लुछ्ने गरेकाले खाली ठाउँ भेटेसम्म शव गाडिरहेको स्थानीयको तर्क छ।
चिकित्सक संघका प्रमुख अब्दुल्लाले यसरी यत्रतत्र लास गाड्दा कुकुरले खनेर खाने सम्भावना भएको बताउँदै सही विधि प्रयोग नभएको बताए। तर हामिद भने अधिकांश सुडानीले चिहान खन्न जानेको र शवलाई कम्तीमा एक मिटर तल गाडिएको बताउँछन्।
शव गाड्ने क्रमबद्ध प्रयास पनि भइरहेका छन्। हमिदले रेडक्रससँगको सहकार्यमा सडकबाट शव निकाल्दै छन्। डा. अथियाको आलोचनाको बाबजुद पनि जनस्वास्थ्य प्रणाली पूर्ण रूपमा ध्वस्त भएमा उनीहरूसँग अर्को विकल्प छैन भन्ने जनताले महसुस गरेका छन्।
गत महिना मे ११ मा दुई सुडानी महिला डाक्टर म्याग्डोलिन र म्याग्डा युसेफ घालीलाई आफ्नो बगैंचामा गाडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
'त्यतिबेला यो एक मात्र विकल्प थियो। उनीहरूको शव १२ दिनसम्म बाहिर थियो,' सुडानी डाक्टर म्याग्डोलिन र घालीका भाइले आँखाभरि आँसु लिएर भने, ‘घरबाट दुर्गन्ध आएको भन्दै छिमेकीले गुनासो गरेपछि केही मानिसहरू आएर गाडे।'
ती दुई दिदीबहिनीका भाइले मानिसहरू आफू बाँच्नका लागि यसरी शव गाड्न बाध्य भएको बताए। उनले भने, 'मेरा दिदीबहिनीलाई आफ्नै बगैँचाको खाल्डोमा गाडियो। उनीहरूको अन्त्य यस्तो होला भनेर मैले कहिल्यै सोचेको थिइनँ।'
सुडानको डाक्टर ट्रेड युनियनका अनुसार खार्पुङमा मे २८ मा ८६५ जनाको मृत्यु पुष्टि भएको थियो। तर यसमा अनौपचारिक रूपमा गाडिएका शवको हिसाब भने छैन।
स्वास्थ्य विभाग, रेडक्रस र सुडानी रेड क्रिसेन्टले शव विसर्जन गर्ने प्रयास गरिरहेका छन्, तर लडाइँले उनीहरूको काममा बाधा पुगेको छ।यस्तो अवस्थामा युद्ध अपराध न्यायाधिकरण गठन हुने सम्भावना न्यून छ । -बीबीसी
प्रतिक्रिया