ad ad

ग्लोबल


सीको विदेश भ्रमणको चाँजो मिलाएर उनको मन जित्न सफल भएका थिए छिन काङ

सीको विदेश भ्रमणको चाँजो मिलाएर उनको मन जित्न सफल भएका थिए छिन काङ

सन् २०१५ मा अमेरिका भ्रमणमा बोइङको कारखाना अवलोकन गर्दै सी र उनको पछाडि बसेका छिन


नेपालखबर
साउन ९, २०८० मंगलबार १८:२९,

छिन काङ गत १२ मार्चमा चीनको विदेशमन्त्री नियुक्त भएका थिए। उनको बढुवालाई सानदार उदयका रुपमा हेर्नेहरुको कमी थिएन। 

तर, उनी सो पदमा चार महिना मात्र टिके। त्यसमा पनि पछिल्लो एक महिना त उनी बेपत्ता नै रहे।

मंगलबार चीनको संसद् राष्ट्रिय जनकंग्रेसको स्थायी समितिले विशेष अधिवेशन आयोजना गर्दै छिनलाई विदेशमन्त्रीको जिम्मेवारीबाट बर्खास्त गरेको छ।

यसअघि नै एक दशक सो पद सम्हालिसकेका अनुभवी कूटनीतिज्ञ वाङ यीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ। जो चीनको कूटनीतिक मामिला प्रमुख पनि हुन्।

एक महिना अघिसम्म छिन सीका निकटस्थ मानिन्थे। सीको आशीर्वादबिना सो पदमा त्यति तीव्र गतिमा पुग्न सम्भव पनि थिएन। चीनको राजनीतिलाई नियाल्ने धेरैले उनलाई सीका ‘फेवरेट’ नेताका रुपमा चित्रित गर्थे।

छिनले सीको मन कसरी जिते त?

छिन दुई पटक विदेश मन्त्रालयको प्रवक्ता बने। २००५ देखि २०१० सम्म र २०११ बाट २०१५ सम्म। प्रवक्ताको दोस्रो कार्यकालमा उनी रहँदा चीनको कूटनीतिमा देखिनेगरी परिवर्तन भइरहेको थियो।

त्यसअघि कम बोल्ने चिनियाँ कूटनीतिज्ञहरु मुखर र आक्रामक हुन थालेका थिए। त्यस्ता कूटनीतिज्ञलाई एक चिनियाँ ब्लकबस्टर एक्सन फिल्मको नामबाट ‘वुल्फ वारियर’ भन्न थालियो। 

छिनले त्यस्तै वुल्फ वारियरको छवि बनाएका थिए।

त्यसअघि उनी केही समय युरोपमा रहे। लन्डनस्थित दूतावासमा उनी मिनिस्टर पनि बने।

त्यसपछि छिन बढुवा हुँदै चीनको उपविदेशमन्त्री बन्न पुगे। त्यसबेला उनको जिम्मेवारी थियो, सञ्चारमाध्यम र विदेश भ्रमणको प्रोटोकल हेर्ने। 

राष्ट्रपति सीका अनेकौँ विदेश भ्रमणको प्रोटोकल उनले नै हेरेका थिए। यही अवधिमा उनले सीको मन जितेको विश्लेषकहरु बताउँछन्। 

हालै बेलारुसका एक पूर्वकूटनीतिज्ञले छिनसँग आफूले काम गर्दाको अनुभव ट्विटरमा सार्वजनिक गरेका छन्। 

२०१५ मा राष्ट्रपति सीले बेलारुस भ्रमण गरेका थिए। त्यसको चाँजो मिलाउने क्रममा छिनसँग आफूले काम गरेको पावेल स्लुन्किनको भनाइ छ।

सीको भ्रमणभन्दा केही महिनाअघि नै त्यसको तयारी सुरु भएको, चिनियाँ कूटनीतिज्ञहरुसँग प्रोटोकलबारे हरेक दिन उही विषयमा छलफल गर्नुपरेको उनले बताएका छन्।

उनका अनुसार भ्रमणको पहिलो दिन समाप्त भएपछि अर्कोदिन सीले म्युजियम भ्रमण गर्ने कार्यक्रम थियो। तर, म्युजियमको तयारीबारे बुझ्न छिन काङ राति २ बजे आएको उनले बताएका छन्। 

म्युजियमको कुन सिँढीमा पुग्दा संगीत बज्न सुरु हुन्छ? कहाँ रोकिने भन्नेबारे दोहो¥याएर बताउनुपरेको उनले बताएका छन्।

जुलाई २०२१ मा सीले छिनलाई राजदूत बनाएर अमेरिका पठाए। जतिबेला दुई मुलुकबीचको सम्बन्ध कठिन चरणबाट गुज्रिरहेको थियो।

उनको कार्यकालमा अमेरिकाले व्यापार तथा प्रविधिमा लिएका कठोर निर्णय, सिन्जियाङ, हङकङ, सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणजस्ता विवादमा गुज्रियो।

अक्टोबर २०२२ मा केन्द्रीय समितिमा उनको बढुवा भएको थियो। त्यसबेलै उनी विदेशमन्त्री हुनसक्ने आकलन गरिएको थियो।

तर, आश्चर्यजनक रुपमा बढुवा भएर सो पदमा पुगे पनि उनी लामो समय टिक्न सकेनन्। उनलाई किन हटाइयो भन्नेबारे औपचारिक रुपमा केही बताइएको छैन। 

यसअघि उनी एक टेलिभिजन प्रस्तोतासँग निकट रहेको हल्ला चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .