ad ad

ग्लोबल


उत्तर कोरियाले किन धमाधम बन्द गर्दैछ दूतावास?

उत्तर कोरियाले किन धमाधम बन्द गर्दैछ दूतावास?

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १९:४०,

४९ वर्षअघि नेपालमा खुलेको उत्तर कोरियाली दूतावास बन्द भएको छ। नेपाल मात्र होइन, विश्वभर नै उत्तर कोरियाले आफ्नो कूटनीतिक उपस्थिति घटाउँदैछ। उसले आफ्ना दूतावासमध्ये झण्डै एक चौथाइ कूटनीतिक मिसन बन्द गर्न लागेको बताइएको छ।

यसक्रममा उत्तर कोरियाले निकट मानेका मुलुकहरुमा समेत दूतावास बन्द गरेको छ। 

वर्षौंदेखि लागेको राष्ट्रसंघीय नाकाबन्दीका कारण खर्च कटौती गर्न उत्तर कोरियाले यो कदम चालेको विश्लेषण हुँदैछ। 

उत्तर कोरियाली राजदूतहरुले युगान्डा र अंगोलाका नेताहरुसँग विदाई भेट गरेर दूतावास बन्द गरेको जानकारी दिइसकेका छन्। त्यस्तै, उत्तर कोरियाले हङकङस्थित महावाणिज्यदूतावास र स्पेनस्थित दूतावास पनि बन्द गरेको छ।

त्यसबाहेक करिब ८ स्थानका दूतावास र महावाणिज्यदूतावास बन्द गर्न लागेको जापानी पत्रिका योमिउरी सिम्बुनले जनाएको छ।

पछिल्लो समय उत्तर कोरियाले आणविक हतियार विकासमा नाटकीय सफलता हात पारेको छ। तर, नाकाबन्दीका कारण उसलाई विदेशी मुद्राको चरम संकट छ। उत्तर कोरियाली दूतावासहरुले प्योङयोङबाट पैसा ल्याएर होइन, सोही स्थानहरुमा व्यापार–व्यवसाय, रोजगारी र अवैध धन्दा गरेर खर्च धान्ने गरेको द गार्डियनले उल्लेख गरेको छ। 

नेपालमा पनि उत्तर कोरियाली लगानीमा रेस्टुराँलगायत व्यवसाय सञ्चालनमा थिए। तर, नेपाल सरकारले ती व्यवसाय बन्द गराएको थियो।

‘उत्तर कोरियाको कठिन आर्थिक स्थितिको एक झलक हो यो। जहाँ उसले आफ्ना परम्परागत सहयोगीसँग न्यूनतम कूटनीतिक सम्बन्ध पनि कायम राख्न कठिन छ,’ दक्षिण कोरियाको युनिफिकेसन मन्त्रालयले भनेको छ।

उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापार चीनसँग थियो। तर, कोरोना महामारीपछि सो नाका बन्द गरेको थियो। 

उत्तर कोरियाली विदेश मन्त्रालका एक अधिकारीहरुले भने दूतावास खोल्ने र बन्द गर्ने सामान्य प्रक्रिया भएको बताएका छन्। 

तर, यो उत्तर कोरियाको अर्थतन्त्र संकटमा रहेको दक्षिण कोरियास्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका अध्येता चो हान बम बताउँछन्।

‘उनीहरुको अर्थतन्त्र चलाउन साइबर ह्याकिङ मात्र पर्याप्त हुँदैन। आर्थिक कठिनाइ र विदेशी मुद्रा रित्तिनु नै दूतावास बन्द गर्नुपर्ने प्रमुख कारण देखिन्छन्,’ उनी भन्छन्, ‘उत्तर कोरियाले अन्यत्रका खर्चिला दूतावास बन्द गरेर चीन, रुस, सिरिया, इरान र क्युबाजस्ता महत्वपूर्ण मुलुकसँग सम्बन्ध सुदृढ गरी आफ्नो नयाँ शीतयुद्धकालीन कूटनीति अघि बढाउने देखिन्छ।’

आर्थिक नाकाबन्दी झेलिरहे पनि उत्तर कोरियाको १५९ देशसँग कूटनीतिक सम्बन्ध छ भने ५० जति मुलुकमा कूटनीतिक उपस्थिति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .