भूमध्यसागर पार गरेर अफ्रिकाबाट रबरको डुंगामा युरोप गइरहेका कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ।
बीबीसीका अनुसार ३ दिनको यात्रापछि डुंगाको इन्जिन फेल भएर समुद्रमै रहेपछि भोक र प्यासले उनीहरूको मृत्यु भएको उद्धारकर्मीले बताएका छन्। जहाजमा रहेका खाना र पानी सकिएपछि भोकमरीले उनीहरूको मृत्यु भएको उद्धारकर्मीहरूको भनाइ छ।
डुंगामा सवार कम्तीमा २५ आप्रवासीलाई भने बचाइएको छ। उनीहरूलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको हो।
यस दुर्घटनामा बाँचेकाहरूले आफूहरू सबै गत शुक्रबार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएको बताएका छन्।
उनीहरूको मृत्युको कारण पानीमा डुबेर नभई भोक र तीर्खाका कारण ज्यान गएको उनीहरूलाई बचाउनेहरूले बताएका छन्।
उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था पनि निकै नाजुक रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ।
Shares
प्रतिक्रिया