भियतनामका राष्ट्रपति भो भान थुओङले राजीनामा दिएका छन्। उनी सो पदमा नियुक्त भएको वर्ष दिन मात्र पुगेको थियो।
बुधबार सत्तारुढ कम्युनिस्ट पार्टीको बैठकपछि सरकारले एक विज्ञप्ति निकाल्दै उनले पार्टीको नियम उल्लंघन गरेको र त्यसले पार्टीको प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको जनाएको छ।
विज्ञप्तिमा कुन नियम उल्लंघन गरेको भन्ने स्पष्ट नभए पनि उनको गृहप्रान्तमा एक भ्रष्टाचार काण्डमा मुछिएकाले राजीनामा दिएको विश्वास गरिएको छ।
किनभने केही दिनअघि मात्र क्वाङ नाइ प्रान्तका एक पूर्वनेतालाई भ्रष्टाचार आरोपमा समातिएको थियो। जुनबेला सो भ्रष्टाचार काण्ड घटेको थियो, त्यतिबेला थुओंग त्यहाँका पार्टी प्रमुख थिए।
गत वर्ष उनीअघिका राष्ट्रपति पनि भ्रष्टाचारमा नाम मुछिएपछि राजीनामा दिन बाध्य भएका थिए।
भियतनाममा राष्ट्रपति नियुक्ति अत्यन्त होसियारीपूर्वक र योजनाबद्ध तरिकाले गर्ने गरिन्छ। तर, दुई वर्षमा दुई राष्ट्रपति भ्रष्टाचार काण्डमा पदच्युत भएपछि मुलुकमा भ्रष्टाचार अत्यन्त गम्भीर बनेको आकलन गरिएको छ।
राष्ट्रपति भियतनामी राजनीतिका चार खम्बामध्ये एक हुन्।
कम्युनिस्ट पार्टीका महासचिव सबैभन्दा शक्तिशाली पद हो तर राष्ट्रपतिको पनि अधिकार भने कम हुँदैन। त्यसबाहेकका शक्तिशाली पदमा प्रधानमन्त्री र संसदका अध्यक्ष हुन्।
गत वर्ष नियुक्त हुँदा भो भान थुओंगलाई क्षमतावान, तुलनात्मक रुपमा युवा र पार्टीका महासचिव ङुएन फु ट्रङको निकटस्थ मानिएको थियो।
उनको राजीनामालाई संसदले अनुमोदन गर्नुपर्छ। एजेन्सी
Shares
प्रतिक्रिया