उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया छिरेका पार्क चुङ क्वन सांसद बनेका छन्। उत्तर कोरियामा उनले आणविक क्षेप्यास्त्र बनाउन सहयोग गरेका थिए।
यसैसाता दक्षिण कोरियामा भएको आम चुनावमा उनी सांसद चुनिएका हुन्।
३७ वर्षीय पार्क दक्षिणमा सांसद हुने चौथो उत्तर कोरियाली हुन्।
‘म खाली हात दक्षिण कोरिया आएको थिएँ। अहिले म राजनीतिमा प्रवेश गरेको छु,’ उनले एक साताअघि भनेका थिए, ‘यसलाई म उदार लोकतन्त्रको शक्ति मान्छु र हाम्रा नागरिकका कारण यो सम्भव भएको हो। यो चमत्कार हो।’
डेढ दशकअघि उनी २३ वर्षको उमेरमा भागेर दक्षिण कोरिया प्रवेश गरेका थिए। उत्तर कोरियामा छँदा उनी नेसनल डिफेन्स युनिभर्सिटीमा थिए। जहाँ उत्तर कोरियाको आणविक हतियार विकास गर्ने विद्यार्थीहरु पढ्छन्।
सन् २००९ मा उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो। त्यही हतियार बनाउन उनले दिनरात मेहनत गरेका थिए।
सिंगो मुलुक खुसी मनाइरहेका बेला उनी चीनतर्फ भागे। त्यसपछि दक्षिण कोरिया।
१९९० को दशकदेखि करिब ३५ हजथार जना उत्तर कोरियाबाट भागिसकेका छन्। दक्षिण कोरिया आएपछि उनले सोल नेसनल युनिभर्सिटीमा पढ्ने मौका पाए र त्यहाँ उनले पीएचडी गरे।
त्यसपछि ह्युन्डाइ स्टिलमा काम गरे। र, हालका राष्ट्रपतिको पार्टीले उनलाई राजनीतिमा आउन आग्रह गर्यो। सत्तारुढ पार्टीको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेका उनी पार्टी हारे पनि संसदमा निर्वाचित भए। एजेन्सी
Shares
प्रतिक्रिया