रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सैनिकहरूले आक्रमण गरेपछि संकटकाल घोषणा गरिएको छ। करिब एक हजार युक्रेनी सैनिकहरू सीमा पार गरी रुसमा पसेपछि दुई दिनदेखि लडाइँ चलिरहेको छ।
सो क्षेत्रका कार्यवाहक गभर्नर अलेक्सेइ स्मिर्नोवले शत्रुलाई रोक्न संकटकाल लगाएको बताएका छन्।
रुसी अधिकारीहरूले कम्तीमा पाँच गैरसैनिक मारिनुका साथै ३१ जना घाइते भएको बताएका छन्।
रुसी सेनाका चिफ अफ जेनेरल स्टाफ वालेरी गेरासिमोभले युक्रेनी सेनालाई अघि बढ्न रोकिएको बताएका छन्। उनले सुदजा सहरनजिक १ सय युक्रेनी सैनिक मारिएको र २१५ जना घाइते पारिएको दाबी गरे।
तर, स्थिति रुसी सेनाले दाबी गरेभन्दा निकै अस्थिर रहेको कतिपय टेलिग्राम च्यानलहरूले बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले फेरि रुसलाई उक्साएको आरोप लगाएका छन्। रुसका अनुसार ११ ट्यांक र २० वटा बख्तरबन्द सवारीसहित ती सैनिकहरू सीमा पार गरेर रुसभित्र छिरेका हुन्।
सो क्षेत्रमा हजारौँ मानिसहरूले ठाउँ छाडेका छन्। युक्रेनले भने यसबारे केही बताएको छैन। एजेन्सी
Shares
प्रतिक्रिया