ad ad

अन्तर्वार्ता


सुवास नेम्वाङः राम्रो कुरा, ओलीले म कक्षा दोहोर्‍याउँदिनँ भनिरहनु भएको छ (अन्तर्वार्ता)

सुवास नेम्वाङः राम्रो कुरा, ओलीले म कक्षा दोहोर्‍याउँदिनँ भनिरहनु भएको छ (अन्तर्वार्ता)

सागर न्यौपाने
साउन १५, २०७७ बिहिबार १५:१३,

नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन्।

नेकपाभित्र जारी विवाद सुल्झाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर संवादमा रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

नेकपाको पार्टीभित्रको विवाद झन् चर्किंदै गएको देखिन्छ, समाधानका लागि केही पहल भएको छ कि जहाँको त्यहीँ छ?
अहिले नेताहरुको बीचमा निरन्तर छलफल र संवाद भइरहेको छ। सहमतिबाहेक अर्को विकल्प छैन। सहमति भनेको दुई अध्यक्षबीचको सहमति, उहाँहरुबीचको वार्ता र संवाद, हामी सबैको निष्कर्ष र निर्णय अनि विधानमा रहेको व्यवस्थाअनुसार अहिलेको विधि, प्रक्रिया, मान्यता नै एकता र सहमति हो। साउन १३ गते देखापरेको घटनाक्रमबाट त्यही स्थापित भएको छ। त्यही दिशातर्फ अगाडि बढ्नुपर्छ र निष्कर्षमा पुग्नुपर्छ।

त्यसका लागि दुई पक्षबीच अहिले वार्ता भइरहेको छ त?
अहिले सकारात्मक दिशातिर अगाडि बढिरहेको छ। शान्तपूर्वक अनौपचारिक रुपमा विभिन्न कुनामा विभिन्न तहका छलफलहरु अहिलेपनि जारी छन्। र, यसले सकारात्मक रुप लिन्छ भन्ने मलाई विश्वास छ।

त्यसको नतिजा कति दिनमा आउला?
यसमा दिन तोक्नेभन्दा पनि यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर हामी लागेका छौं। समय तोकेर होइन, सबैले पहल गरिहेका छौं। आ–आफ्ना ठाउँबाट जुटिरहेका छौं।

सहमतिका लागि वामदेव गौतमले अघि सार्नुभएको ६ बुँदे प्रस्तावलाई आधार मानिएको हो कि नयाँ मिलनविन्दु खोजिएको छ?
त्यसमा यही वा त्यही भन्यो भने त्यसबाट फेरि विभिन्न ढंगले विवाद तान्ने काम होला। मलाई सोध्नुहुन्छ भने, कमरेड वामदेव गौतमको जुन ६ बुँदे प्रस्ताव छ, त्यो मलाई राम्रो लागेको छ। धेरैले राम्रो भनेका छन्। देशव्यापी रुपमा साथीभाइहरुले साह्रै राम्रो छ भनेर टिप्पणी गरेका छन्। तर, यो वा त्यो भनेर अहिले भन्नुभन्दा पनि निरन्तर संवाद, सहमतिबाट निष्कर्षमा पुग्नुपर्छ।

बुधबार केन्द्रीय समितिको बैठक माग गरेर १ सय ५२ नेताले हस्ताक्षर बुझाएका छन्, यसले पनि अलिकति नेतृत्व दबाबमा परेको होला?
तपाईंले भनेको कुरामा म थपुँ। योभन्दा अगाडि पछिल्लो सचिवालय बैठक (साउन ३) अहिलेका यी सबै समस्याहरुको सन्दर्भमा एउटा सर्वसम्मत निष्र्षमा पुगेको थियो। एउटा सहमति कायम भएको थियो। त्यो सहमति के थियो? त्यसलाई हामी के गर्छौं? त्यसबारेमा पनि निष्कर्षमा पुग्नुपर्ला। अनि यसबीचमा लामो समय हामी स्थायी समितिको बैठक बस्यौं, त्यसका लागि तय गरेका एजेन्डा र कार्यसूचीमध्ये एउटा पनि टुंगोमा हामीले पुर्‍याएका छैनौं।

यस्तो अवस्थामा स्थायी समितिलाई के गर्छाैं? सचिवालयको बैठक चलिरहँदा स्थायी समिति बैठक सुरु भयो। अहिले अचानक नयाँ प्रसंग झिकिएका छन्। त्यसैले के गर्ने कसो गर्ने भन्ने कुरा त यी सबै सन्दर्भलाई सोच्नुपर्ला।

तर,एउटा कुरालाई पटक्कै नर्बिसौं। त्यो के हो भने अहिलेको पार्टीको विधि, प्रक्रिया र मान्यता भनेको एकता र सहमति हो। त्यो भनेको दुई पार्टीका आआफ्ना महाधिवेशनबाट निर्वाचित भएर आएका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवाद र सहमति नै मूल आधार हो। त्यो कुरालाई पनि हामीले हेक्कामा राख्नुपर्‍यो।

तर, दुई अध्यक्षबीचको विश्वासको वातावरण ओलीले बिगार्नुभयो भन्ने छ नि त?
म मसिनो ढंगले त्यसमा प्रवेश गर्दिनँ। मेरो एउटा मान्यता छ, जसअनुसार नहुँदा धेरै समस्याहरु आएका छन्। पार्टी र नेताहरुको बारेमा म सार्वजनिक टिकाटिप्पणी गर्न रुचाउँदिनँ। म आफ्ना कुरा दुई अध्यक्षलाई भन्छु र म संगठित रहेको स्थायी समितिलाई भन्छु। सार्वजनिक रुपमा कुनै पनि विषयवस्तुबारे छलफल गर्न ठीक हुँदैन भन्ने मान्छे हुँ म। हाम्रा नेताहरुले यो कुरालाई पनि ध्यानमा राख्न आग्रह गर्छु। यति भन्छु, दुई अध्यक्षबीचमा निरन्तर छलफल र सहमतिबाहेक अर्काे विकल्प छैन।

त्यसो भए दुई अध्यक्षबीचमा त्यो एकता र सहमति कसरी गर्ने त?
अहिले लागि विधि, प्रक्रिया र मान्यता भनेकै एकता र सहमतिबाहेक अर्काे विकल्प रहेन। हामीले भनेका छौं, अब महाधिवेशनमा जाऔं, त्यसबाट एकता र सहमतिको महाधिवेशन हुन्छ। त्यसले सबै कुराको टुंगोमा पुर्‍याउँछ। पार्टीभित्रको संक्रमणको अन्त्य त्यसले गराउँछ। हामीले महाधिवेशन गर्ने भनेर त सर्वसम्मतिले निर्णय गरेको कुरा हो। त्यसलाई त बोकेर हिँड्नुपर्‍यो नि। त्यो नै उपयुक्त प्रक्रिया हो र राम्रो बाटो हो भन्ने मेरो पनि आग्रह हो।

तपाईंको कुरा सुन्दा त पार्टीभित्रको विवाद मिलिसकेको जस्तो लाग्छ। तर, यथार्थ त नेताहरु संवादमा बस्न पनि नरुचाउने स्थितिमा छन्।
चिन्ता छ, हाम्रो अगाडि चुनौतीहरु छन्। त्यो सबैलाई ध्यानमा राखेर निष्कर्षमा पुग्ने कोसिस गर्ने हो। अहिले नेकपामा विग्रह आयो भने, टुटफुट भयो भने हामीलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउँछ। नेकपामा टुटफुट भयो भने पार्टीलाई मात्र होइन, हामीले अपनाएको प्रणालीलाई नै असर पुर्‍याउँछ। निर्वाचनताका हामीले अस्थिरताको विरुद्ध शान्ति र स्थिरता स्थापित गर्छौं भनेर जनतालाई भनेका थियौं। जनताले हामीले त्यही कारण झण्डै दुई तिहाई दिएर पठाएका हुन्, अहिले टुटफुट भयो भने, जनताको बीचमा के भनेर जान्छौं? अनि जनताले दिएको दुईतिहाईको सम्मान गर्न नसक्ने हामीलाई किन भोट दिने? यसको उत्तर हामीले के दिने? यसलाई समेत ध्यानमा राखेर मेहनत गरौं, एकजुट हुनुबाहेक अन्य विकल्प छैन।

अध्यक्ष तथा प्रधानमन्त्रीले दुईमध्ये एक पदबाट राजीनामा दिनुहुन्छ त उसो भए?
मैले यो कुरा साह्रै प्रष्ट शब्दमा भनेको छु। अध्यक्ष परिवर्तन गर्ने ठाउँ भनेको महाधिवेशन हो। हामीले पहिले नै महाधिवेशनको बारेमा गएको केन्द्रीय कमिटीको (माघ १५–१९) बैठकले सर्वसम्मतिले चैतमा गर्ने भनेका छौं। हामी आफैँले गरेको निर्णय हो। हाम्रोमा नेतृत्वलाई परिवर्तन गर्ने, नयाँ चयन गर्ने भनेको महाधिवेशन हो।

जहाँसम्म प्रधानमन्त्रीको कुरा छ, आवधिक निर्वाचन गर्ने, अनि त्यसबाट प्रधानमन्त्रीको चयन हुन्छ। एउटा राम्रो सकारात्मक कुरा के छ भन्दा हाम्रा अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी म कक्षा दोहोर्‍याउँदिनँ भनिरहनु भएको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेजस्तै अलि अगाडि नेतृत्व फेर्ने हो भने अर्ली महाधिवेशन गरौं। निर्वाचनको हकमा त यताउता गर्न मिल्दैन। हामीले अस्थिरताको विरुद्धमा आवाज उठाएर चुनाव जितेर आएका हौं, यो सबै कुरालाई हेक्कामा राखेर अगाडि बढे समाधान निस्कन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .