प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको पाँच दिनपछि उनले विश्वासको मत लिने भएका हुन्।
नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा गत सोमबार प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ।
मुख्यमन्त्रीको रुपमा नेकपा एमालेलाई ५ वर्ष नै छाडेको भन्दै असन्तुष्ट रहेको नेकपा माओवादी केन्द्र सरकारमा सामेल नभएको बेला कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्। संविधान तथा प्रदेशसभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ः०० बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि प्रदेशसभामा सुचना दिएको मुख्यमन्त्रीका सचिवालयका रवि खनालले जानकारी दिए।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ।
प्रतिक्रिया