प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव बहुमतले पारित भएको छ।
कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ।
बिहीबार प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे।
नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी भने प्रस्तावको विपक्षमा थिए।
कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
मतदान प्रक्रियामा सहभागी हुन पाइनन् मन्त्री
जनता समाजवादी पार्टीकी नेता एवम स्वास्थ्य मन्त्री निर्मला लिम्बु मतदान प्रक्रियमा सहभागी हुन पाइनन्।
मतदान सुरु भएपछि प्रदेश सभा बैठकमा प्रवेश गरेकी उनलाई मर्यादापालकले रोकेका थिए।
मर्यादापालकले प्रदेश सभामा प्रवेश गर्न नदिएपछि मन्त्री लिम्बू प्रदेश सभा परिसरबाट फर्केएकी थिइन्।
मतदानका क्रममा सञ्चारकर्मीलाई पनि बाहिर निकालिएको थियो। पत्रकार रहेको स्थानबाट सभामुख बाबुराम गौतमले पत्रकारलाई निकाल्न रुलिङ गरेपछि मर्यादापालकले बाहिर निकालेका थिए।
नामाकरणसँगै प्रदेश सभा अनिश्चित कालका लागि स्थगित भएकाे छ।
प्रतिक्रिया