हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने धनकुटाको सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ
प्रारम्भमा नै दुई घण्टाभन्दा बढी सिँचाइका लागि पानी नपाएका गाउँवासीले सिँचाइको पाइप फुट्न थालेपछि अब उनीहरूले लिफ्टिङ पानीको आस गर्न छाडेका छन्।
परीक्षणकालमा विभिन्न समस्या देखिएकाले निर्माण कम्पनीको एक वर्षसम्मको अथक प्रयासपछि ठीक भएपछि उपभोक्ता समितिका अध्यक्ष विष्णु राईले आयोजना जिम्मा लिएका थिए। तर उनका अनुसार आयोजना हस्तान्तरण भएको तीन महिनापछि पाइप फुटेपछि अहिले गाउँका १० देखि १५ घरले मात्र आंशिक पानीको खपत गरिरहेका छन्।
नदीबाट गाउँसम्मको करिब नौ सय मिटर भर्टिकल सिँचाइका लागि नौवटा स्टेशनबाट एक सय १० मिटर फलामे पाइप र सात सय मिटर रबरको पाइप विस्तार गरिएको छ। सोलार सिस्टमबाट सञ्चालित सो लिफ्टिङ आयोजनाको पाइपभन्दा पम्प बढी हर्स पावरको भएकाले पाइप फुटिरहेको राईको अनुभव छ।
आधा क्षेत्रसम्म पानी लिफ्ट गर्दा पानीको बहाव थाम्न नसकेर भू–क्षय हुने र पूरै लिफ्टिङ गर्दा पाइप फुट्ने भएकाले आयोजना पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उनको भनाइ थियो।
गाउँमा सिंचाइ आयोजना बनेको एक वर्ष पनि पूरा नभई पाइप फुटेर सिँचाइ गर्न नपाएको गुनासो सो गाउँका ६७ वर्षीय सोमबहादुर राईले गुनासो गरे।
छपाइप फुटेर हामीले बनाउन सकेनौँ’, उनले भने, छखै माथिबाट बनाउन आउँछ भन्थे १ कहिले आउने हुन्, थाहा छैन।’
त्यस्तै साही गाउँका ५३ वर्षीय अैनबहादुर राईले सिँचाइ आयोजना प्रारम्भदेखिनै राम्ररी नचलेको गुनासो गरे। चालीस रोपनीमा खेती गरिरहनुभएका राईले पहिला पनि एक रोपनीभन्दा बढी क्षेत्रफलमा दुई घण्टाभन्दा बढी सिंचाइ गर्न नपाएको सुनाए।
पटक-पटक पाइप पड्कने र बनाउने क्रमसँगै हाल गाउँका आठ÷दश घरले आंशिक सिंचाइ गरिरहेको उनले जानकारी दिए।
अब पाइप लाइन बनिहाले पनि गाउँका लागि पर्याप्त सिँचाइ नपुग्ने भएकाले उक्त सिँचाइ आयोजनाको खासै अर्थ नरहेको उनको भनाइ थियो
‘यो पानीले हामीलाई खान पनि पुग्दैन’, राईले भने।
आयोनाको अनुगमनको जिम्मा पाएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका धनकुटाका अधिकृत बुद्धिमान लिम्बूले आयोजना मापदण्डअनुसार नै बनेको जानकारी दिए।
सोलारबाट निस्कने विद्युत् भोल्टेजको घटबढका कारण पानी लिफ्टिङमा समस्या भएको उनले जानकारी दिनुभयो।
गाउँवासीले आयोजनाका विरुद्ध अख्तियारमा मुद्दा दायर गरेकाले एक वर्षसम्म आयोजना मर्मत हुन नसकेको लिम्बूले जानकारी दिए।
पाइपको जोर्नी फुट्ने समस्या देखिएकाले त्यसलाई चाँडै वेल्डिङ गरेर सिँचाइ आयोजना सञ्चालन गरिने उनको भनाइ थियो। रासस
Shares
प्रतिक्रिया