वर्षाैंदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाका बासिन्दालाई हर्क साम्पाङ मेयर बनेयता त्यो समस्या छैन। अहिले उनीहरूले सहज रूपमा खानेपानी पाइरहेका छन्।
त्यसो त गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दा साम्पाङले खानेपानी समस्यालाई नै प्रमुख चुनावी एजेन्डा बनाएका थिए। मेयरमा विजयी भएपछि वाचाअनुरूप आफैँ श्रमदानमा खटिएर भए पनि उनले धरानवासीलाई खानेपानी उपलब्ध गराएरै छाडे। साम्पाङले खर्दु र निशाने खोलाको पानी ल्याएर धरानवासीको समस्या समाधान गरेका हुन्।
अझै खानेपानी पुग्न नसकेका गाउँहरूमा खानेपानी पुर्याउन उनले अभियान जारी नै राखेका छन्। जसका लागि स्थानीयसँगै उनी आफू पनि दैनिक श्रमदानमा खटिरहेका छन्। यस विषयमा तस्बिर र भिडिओसहित उनले सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका हुन्छन्।
तर उनको शैलीप्रति कतिपय असन्तुष्ट पनि देखिएका छन्। जसले उनको विरोध गर्ने गरेका छन्। यति मात्र होइन, केही दिनयता साम्पाङको सक्रियतामा बिच्छ्याइएका खानेपानीका पाइपमा आगो पनि लगाउन थालिएको छ।
यसअघि आफ्नो विरोध गर्दै जंगलमा बिच्छ्याइएका खानेपानीका पाइपमा कसैले आगो लगाएको तर स्थानीयको सहयोगमा पाइप बचाइएको जानकारी साम्पाङले दिएका थिए।
तर फेरि पनि पाइपमा आगो लगाइएको पाइएको छ। मेयर साम्पाङले त्यसका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
हेर्नुहोस् तस्बिर-
खानेपानीका पाइपमा डढेलो लगाउनेविरुद्ध कडा आलोचना गर्दै उनीहरू को हुन् भनेर पत्ता लगाइने उनले बताएका छन्।
मेयर साम्पाङले लेखेका छन्, ‘...कसले लगायो आगो, खोज अनुसन्धान हुँदै छ।’
Shares
प्रतिक्रिया