प्रहरीको प्रारम्भिक अनुसन्धानले मोरङको विराटनगरस्थित घरभित्रै मृत भेटिएकी नोबेल मेडिकल कलेज शिक्षण अस्पतालकी स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको देखाएको छ।
सिराहाको फुल्काहकट्टी घर भई उक्त अस्पतालनजिकै रहेको धीरेन्द्र गिरीको घरमा डेरामा बस्ने २५ वर्षीया दास शुक्रबार दिउँसो आफ्नै कोठाभित्रको शौचालयमा मृत फेला परेकी थिइन्।
घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारका चोट लागेकी दासको कसैले हत्या नै गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
‘अहिलेसम्मको अनुसन्धानले उनलाई कसैले हत्या गरेको देखिन्छ’, डीएसपी दाहालले शनिबार नेपालखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ।’
अहिलेसम्म हत्या कसले किन गर्यो भन्ने विषयमा भने तथ्य पत्ता लागिनसकेको उनको भनाइ छ।
अविवाहित नर्स दास विराटनगरमा डेरामा एक्लै बस्थिन्।
प्रेम सम्बन्धका कारण उनको हत्या भएको आशंका पनि गरिएको छ नि भन्ने नेपालखबरको प्रश्नमा डीएसपी दाहालले भने, ‘अनुमान त गर्न पाइयो, तर प्रहरीले त तथ्य/प्रमाणका आधारमा पुष्टि गर्नुपर्ने हुन्छ। प्रहरीले अहिलेसम्म त्यस्तो केही निष्कर्ष निकाल्न सकेको छैन, विभिन्न एंगलबाट अनुसन्धान गरिरहेका छौँ’, उनले भने।
सो घटना अनुसन्धानका क्रममा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको पनि उनले बताए।
‘हामी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने प्रयास गरिरहेका छौँ’, डीएसपी दाहालले भने।
पोस्टमार्टमका लागि नर्सको शव धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया