ad ad

साहित्य


जगदम्बाश्री यादवलाई, मैनालीलाई मदन पुरस्कार

जगदम्बाश्री यादवलाई, मैनालीलाई मदन पुरस्कार

नेपालखबर
असोज १७, २०८१ बिहिबार २०:३९, काठमाडौँ

मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ। यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ।

गुठीद्वारा आज ललितपुरमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरे। गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्राडा यादवलाई सम्मान गरिएको हो।

पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ। गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्राडा यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए।

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गरेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो। मैनालीका यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशित भइसकेका छन्।

मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदानमार्फत नेपाल–अंग्रेज युद्धको बखान गरेको बताए।

‘मैले मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखानमार्फत त्यही युद्धका २६ पर्व सुनाएको छु। नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोर्‍याइरहेको दुई सय १० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीहरुले त्यतिबेलै भनेका सत्य कथाको पुनःकथन गरेको छु,’ उनले भने।

प्राडा यादवले नेपालका भाषाहरुको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गरे। 

‘विभिन्न संकटग्रस्त भाषाहरूको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षा, सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ। तर तिनको संरक्षण र संवर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ,’ उनले भने।

मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई अन्तिम छनोट गरिएको अध्यक्ष दीक्षितले जानकारी दिए।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो।

यो पुरस्कार पहिलोपटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइएको थियो।

गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बाश्री सम्मान स्थापना गरेको थियो। यो सम्मानबाट पहिलोपटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .