ad ad

छापा खबर


‘हाई प्रोफाइल’ जुवाडेको सम्पत्ति छानबिन गर्ने तयारी

‘हाई प्रोफाइल’ जुवाडेको सम्पत्ति छानबिन गर्ने तयारी

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ०:५४,

२ करोड ६७ लाख नगदसहित पक्राउ परेका जुवाडे र कम तौल दिएर ग्राहक ठगी गर्दै आएका निर्माण सामग्री व्यवसायीहरूको सम्पत्ति छानबिन हुने भएको छ।

उनीहरूले अवैध रूपमा करोडौँ सम्पत्ति कमाएको प्रारम्भिक छानबिनमा देखिएपछि पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने प्रहरीको तयारी छ।

यही कात्तिक ९ मा प्रहरीले महाराजगन्जस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको थियो। प्रहरीले खालबाटै २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो, जुन जुवाबाट बरामद भएको अहिलेसम्मकै ठूलो परिमाणको रकम हो।

यति धेरै पैसा उनीहरूले अवैध रूपमै कमाएकाले त्यसलाई जफत गरेर उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो। जुवालगायत अवैध गतिविधिबाटै उनीहरूले करोडौँ सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि पठाउन लागिएको हो।

प्रहरीले जुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, इन्द्रबहादुर श्रेष्ठ, रञ्जन भण्डारी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, शोभित सिलवाल, सोहेल कार्की, पवनकुमार गुप्ता, गेल्जे लामा, पवित्रकुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, शम्भुबहादुर बुढाथोकी, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुलीलाई पक्राउ गरेको थियो।

उनीहरूमध्ये कतिपय विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिको छानबिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्दै आएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

ट्रक नै ‘मोडिफाई’ गरेर तोकिएभन्दा कम तौलको सामान बेचेर ठगी गरको आरोपमा पक्राउ परेका २३ जना निर्माण सामग्री व्यवसायीको पनि सम्पत्ति छानबिन सुरु भएको छ । इँटा, गिट्टी, बालुवा, चिप्स तथा ढुंगाजस्ता निर्माण सामग्री बिक्रीमा ढुवानी गर्ने ट्रक तथा टिपर नै मोडिफाई गरी कम परिमाण दिएर तिनले ग्राहक ठगेको आरोपमा गत १ कात्तिकमा पक्राउ परेकाहरू प्रहरी हिरासतमै छन् । उनीहरूले त्यसरी करोडौँ सम्पत्ति आर्जन गरेको प्रहरीले जनाएको छ।

ढुवानी गर्ने मिनिट्रकहरूमा पाँच इन्चसम्मको फलाम र काठको बक्स राखी परिमाण कम गरी ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .