ad ad

छापा खबर


बालिका निर्मला पन्तको कथाबस्तुमा बनेको चलचित्र ‘कोपिला’ टेलिभिजनबाटै रिलिज गर्ने तयारी

बालिका निर्मला पन्तको कथाबस्तुमा बनेको चलचित्र ‘कोपिला’ टेलिभिजनबाटै रिलिज गर्ने तयारी

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ४:१३,

कोरोना संक्रमणका कारण निरन्तर लकडाउन जारी छ। नेपालका सिनेमा घरहरू कहिले खुल्छन् भन्ने टुंगो छैन।

आफ्नो चलचित्र निर्माण सम्पन्न गरेर प्रदर्शनका तयारीमा बसेका चलचित्र निर्माताहरू यतिबेला छटपटाएका छन्। फिल्ममा लगानी फसेको र सिनेमा अनिश्चित समयसम्म रिलिज हुन नपाउँदा आफूहरू घाटामा जान थालेको उनीहरूको कथन छ।

यसैक्रममा सिनेमा हल खुल्न अझै केही समय लाग्ने भएपछि चलचित्र ‘कोपिला’लाई टेलिभिजनबाटै रिलिज गर्न लागिएको यसका निर्माता मणिराज गौतमले जानकारी दिएका खबर आजको राजधानी दैनिकले छापेको छ।

उनका अनुसार यो चलचित्र अब डिसहोमको पे च्यानलमार्फत रिलिज गरिने भएको छ । दर्शकहरूले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत पैसा तिरेर हेर्न पाउने उनले बताए।

‘हलमा सिनेमा रिलिज गर्न सकेनौँ। हल कहिले खुल्ने टुंगो पनि भएन। त्यसैले, वैशाख ३० गतेबाट दैनिक आठ सोको दरले अब डिसहोमबाट फिल्म रिलिज गरिने भएको छ,’ निर्माता गौतमले भने, ‘लकडाउनको बेला यो चलचित्रलाई दर्शकहरूले घरमै बसेर आफ्नो समयअनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउनुहुनेछ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा यो चलचित्र निर्माण गरिएको हो।

चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौंडामा विशेष सोमार्फत आएको रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोगसमेत गरिएको चलचित्रका निर्माता गौतमले बताए। चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मला पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले जानकारी गराए।

चलचित्रका निर्देशक शिवम अधिकारी हुन्। उनले पनि कोरोना भाइरस त्रासदीका कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाइ हुने भएकाले लकडाउनमा बसेका दर्शकहरूको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत चलचित्र प्रर्दशन गर्न लागेको बताए।

उनका अनुसार चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ। बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए।

गणेश गिरीको प्रस्तुति रहेको कोपिलाको कार्यकारी निर्मातामा सुवास काफ्ले, निर्मातामा समीर मिया र रामेश्वर कार्की छन्।

यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षत्रीलगायतको अभिनय छ।

जसमा दीपक शर्माको संगीत, निर्देशक अधिकारीको लेखन, रामेश्वर कार्कीको छायांकन र समीर मियाको सम्पादन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .