ad ad

छापा खबर


नेपालमा कोरोनाविरूद्धको लडाइँ लामो हुने संकेत

नेपालमा कोरोनाविरूद्धको लडाइँ लामो हुने संकेत

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार २:३३,

वैशाख १८ सम्म कोरोना शून्य रहेको प्रदेश ५ मा वैशाख १९ गते पहिलो पटक दुई सङ्क्रमित फेला परे, रूपन्देही र बाँकेमा। त्यसको ११ दिनभित्र यो प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७० पुग्यो।

स्वास्थ्य अधिकारीहरू भन्छन्, ‘सङ्क्रमितको सङ्ख्या अरू बढ्नेछ किनभने परीक्षणको दायरा बल्ल फराकिलो बनाइएको छ।’ यो खबर आजको गोरखापत्र दैनिकमा दीपक ज्ञवालीले लेखेका छन्।

मङ्गलबार एकै दिन मात्र प्रदेश ५ मा १७ जना नयाँ सङ्क्रमित थपिए । तीमध्ये नेपालमा पहिलो पटक कपिलवस्तुमा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखियो । अहिलेसम्म यो प्रदेशका रुपन्देही, बाँके, कपिलवस्तुमा बढी सङ्क्रमित देखा परेका छन् । अरू जिल्ला पनि जोखिमको सूचीमा छन्।

नेपालमा कोरोना सङ्क्रमण नहुँदै सार्वजनिक र सामूहिक कार्यक्रम निषेध गरेको यो प्रदेशमा एकाएक सङ्क्रमण फैलिनुमा केही विशेष कारण छन्।

सबैभन्दा धेरै अर्थात् झन्डै चार सय किलोमिटरको खुला सीमा व्यवस्थापनमा जनशक्तिको अभाव, भारतीय पक्षले नेपालीलाई पठाउने प्रवृत्ति, अरू प्रदेशको तुलनामा परीक्षण गर्नुपर्ने धेरै व्यक्ति, परीक्षण किटको अभाव रहेको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका अधिकांश दुवै देशमा जारी लकडाउनकै बीच लुकिछिपी नेपाल भित्रिएको जिल्ला प्रशासनले पुष्टि गरेको छ।

 सबै प्रदेशको तुुलनामा यो प्रदेशमा सबैभन्दा धेरै अर्थात् पाँच हजार ५७४ जना क्वारेन्टाइनमा बसेका छन् । तीमध्ये अहिलेसम्म तीन हजार ८१२ जनाको स्वाब सङ्कलन भएकामा दुई हजार ५६३ जनाको नतिजा आएको छ । तीमध्ये ७० जना कोरोना सङ्क्रमित भेटिए । एक हजार २४९ जनाको नतिजा आउन बाँकी छ।

 थपिनेको परीक्षण झन् चुनौतीपूर्ण छ किनभने सुनौली नाकामा मात्र अलपत्र झन्डै दुई हजार नेपाली स्थानीय तहहरूको पहलमा मुख्य नाकाबाट नेपाल भित्रिँदैछन् । उनीहरूको पनि परीक्षण गर्नु छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख उमाशङ्कर चौधरीका भनाइमा परीक्षणको दायरा बढेकाले सङ्क्रमितको सङ्ख्या पनि बढ्न सक्नेछ । उहाँका भनाइमा भयावह अवस्था आउन नदिन अनेक आकस्मिक रणनीति अपनाइएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पताललाई ५० बाट दुई सय बेडमा बिस्तार गरिँदैछ । बाँकेको अस्पतालमा पनि एक सय बेड बिस्तार गरिँदैछ । किट आएकाले अब परीक्षण पनि तीव्र भइरहेको छ।

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सार्वजनिक अपिल गर्दै भनेका छन्, ‘कोरोना सङ्क्रमित पत्ता लाग्नु सुरक्षित हुनु हो। सचेत बनौँ, त्रसित नहोऔँ । लकडाउनमा पनि कृषिकर्म र उत्पादनकर्ममा जुटौँ । लडाइँ लामो हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .