ad ad

छापा खबर


सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ०:८,

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन्।

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६/७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ।

हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०/७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने।

शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउनसमेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ।

गत वर्ष बलात्कृत एक हजार तीन सय ९३ बालिकामध्ये दुई सय ७३ जना १० वर्षमुनिका छन् । त्यस्तै, ११ देखि १६ वर्षसम्मका आठ सय एक र १७ देखि १८ वर्ष उमेर समूहका तीन सय १९ जना बलात्कृत भएका छन्।यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र भोला पासवानले लेखेका छन्।

प्रहरीको तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा तीन सय १९ र सबैभन्दा कम कर्णालीमा ८१ बालिका बलात्कृत भएका छन् । त्यस्तै, लुम्बिनीमा दुई सय ३४, प्रदेश २ मा दुई सय चार, बागमतीमा एक सय ६५, काठमाडौं उपत्यकामा एक सय ३७, सुदूरपश्चिममा एक सय २९ र गण्डकीमा एक सय २३ बालिका बलात्कारको सिकार भएका छन्।

चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन् । साउनदेखि असोजसम्म सात सय २२ घटना प्रहरीमा दर्ता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .