ad ad

छापा खबर


२ करोड १७ लाख नेपालीलाई मात्र भ्याक्सिन दिइने, २८ प्रतिशतलाई यसकारण दिइने छैन भ्याक्सिन

२ करोड १७ लाख नेपालीलाई मात्र भ्याक्सिन दिइने, २८ प्रतिशतलाई यसकारण दिइने छैन भ्याक्सिन

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १:५३,

कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ।

प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइने खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा.श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन्।

कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत भ्याक्सिन निःशुल्क ल्याइनेछ । ५२ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने बजेट सरकारले बेहोर्नुपर्नेछ । त्यसका लागि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने सरकारको प्रारम्भिक अनुमान छ।

नेपालमा खोप भण्डारण गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नरहेकाले फाइजरको खोप आउने सम्भावना नरहेको बताइएको छ । सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि तयारी गरेको छ । नेपालमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिँदै आएको छ।

सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .