हरियाणा राज्यका गृहमन्त्री अनिल विजले आफू कोरोना संक्रमित भएको कुरा शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै भारतमा बनिरहेको को-भ्याक्सिन (कोरोनाविरुद्धको खोप) को प्रभावकारितामा प्रश्न उठेको छ।
किनकि मन्त्री विज तेस्रो परीक्षणमा रहेको त्यो खोप लगाउने पहिलो व्यक्ति हुन्। गत नोभेम्बर २० का दिन खोप लगाएका उनी १४ दिनपछि कोरोनाबाट संक्रमित भएका हुन्।
— ANIL VIJ MINISTER HARYANA (@anilvijminister) December 5, 2020I have been tested Corona positive. I am admitted in Civil Hospital Ambala Cantt. All those who have come in close contact to me are advised to get themselves tested for corona.
यसैकारण भारतमा बनिरहेको त्यो खोप ‘फेल’ भएको त होइन भनेर शंका उत्पन्न भएको हो।
तर यस विषयमा खोप निर्माता भारत बायोटेक कम्पनीले विस्तृत स्पष्टीकरण दिएको छ।
कम्पनीका अनुसार उक्त खोपको चिकित्सकीय परीक्षण (क्लिनिकल ट्रायल) का क्रममा व्यक्तिलाई २८ दिन अर्थात् करिब १ महिनाको अन्तरालमा २ डोज दिइन्छ।
समाचार एजेन्सी एएनआईका अनुसार खोपको दोस्राे डोज लगाएको १४ दिनपछि मात्र त्यसले काम गर्याे/गरेन भन्ने थाहा हुने कम्पनीको दाबी छ। खोप नै यस किसिमले बनाइएको छ कि दुई डोज लगाएपछि मात्र यसले काम गर्छ।
खोपको तेस्रो चरणको परीक्षणबारे कम्पनीले भनेको छ- परीक्षणमा सहभागीमध्ये ५० प्रतिशतलाई मात्र खोप लगाइन्छ भने बाँकी ५० प्रतिशतलाई ‘प्लेसिबो’ दिइन्छ। प्लेसिबोले शरीरमा कुनै प्रभाव पार्दैन। डाक्टरले यसको प्रयोग सम्बन्धित व्यक्तिमा मैले खोप लगाएको छु भन्ने लागेर कस्तो मानसिक असर पर्दाेरहेछ भन्ने थाहा पाउनका लागि गर्छन्।
बोलीचालीको भाषामा भन्नुपर्दा प्लेसिबो एउटा यस्तो चिकित्सा पद्धति हो, जसमा औषधि हालिएको हुँदैन। यसले व्यक्तिमा भ्रम अथवा विश्वासले काम गर्छ। अर्थात् बिरामीलाई गोली त दिइन्छ, तर त्यो दबाई हुँदैन।
भ्याक्सिनोलजी डा. चन्द्रकान्त लहरिया भन्छन्, ‘सबैभन्दा पहिला त यो बुझ्न जरुरी छ कि कुनै पनि परीक्षणमा जसले भाग लिन्छन्, ऊ स्वयंसेवक हुन्छन् र क्लिनिकल ट्रायल ‘डबल ब्लाइन्डेड’ हुन्छ। डबल ब्लाइन्डेडको अर्थ के हो भने न परीक्षकलाई थाहा हुन्छ न त व्यक्तिलाई कि उसलाई खोप दिइयो वा प्लेसिबो? यसलाई डब्बल ब्लाइन्डेड भनिन्छ। यस्तो अवस्थामा उन (अनिल विज) लाई वास्तविक खोप दिइयो वा प्लेसिबो भन्न सकिन्न।’
डा. लहरिया अगाडि भन्छन्, ‘कुनै भ्याक्सिनको प्रभाव जुन व्यक्तिलाई खोप दिइयो तीमध्ये कति संक्रमित भए र जसलाई खोप दिइएन तिनमा कति संक्रमित देखिए भन्ने आधारमा विश्लेषण गरिन्छ। यसरी तुलना गरेर खोपको प्रभाविकारिता मूल्यांकन गरिन्छ। जुन व्यक्तिलाई खोप दिइयो, तिनलाई तुलनात्मक रूपमा संक्रमण कम भयो भने खोप प्रभावकारी छ भन्ने बुझिन्छ। तर यहाँ स्पष्ट हुनुपर्ने कुरा के छ भने कुनै पनि भ्याक्सिनले सय प्रतिशत प्रभावकारी हुँदैन। यसको अर्थ के हो भने जुन व्यक्तिलाई भ्याक्सिन दिइयो, उसलाई पनि कोरोना संक्रमण हुने जोखिम रहन्छ।’
डा. लहरियाका अनुसार कुनै खोप कति प्रभावकारी छ भनेर त्यतिबेला मात्र भन्न सकिन्छ, जतिबेला परीक्षण प्रक्रिया पूरा हुन्छ। अर्थात् खोप लगाइएको व्यक्तिको विस्तृत अध्ययनपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ।
यसैकारण कुनै एक सहभागी (खोप लगाएका व्यक्ति) लाई संक्रमण देखिएकै आधारमा खोपको मूल्यांकन गर्न सकिन्न।
पहिलो डोज र दोस्रो डोजबीच यति दिनको अन्तर किन?
डा. लहरियाका अनुसार कुनै पनि खोपले प्राइमिङ एन्ड बुस्टिङ सिद्धान्तमा काम गर्छन्। यसअन्तर्गत खोपको पहिलो डोजको काम हो– व्यक्तिको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई क्रमशः बनाउँदै जानु। वैज्ञानिकका अनुसार यो प्रक्रिया पूरा हुन केही दिन लाग्छ। अनुमानित ७–१४ वा २१–२८ दिनसम्म लाग्न सक्छ।
साधारण शब्दमा भन्नुपर्दा पहिलो डोजले इम्युन सिस्टमलाई सक्रिय बनाउँछ। यसपछि जब इम्युन सिस्टम चरम अवस्थामा पुग्छ, तब खोपको दोस्रो डोज दिइन्छ। अनि व्यक्तिमा एन्टिबडी बन्ने प्रक्रिया तेज गतिमा अघि बढ्छ।
यस चरणमा जुन व्यक्तिमा उच्च मात्रामा एन्डिबडी विकास हुन्छ, ऊ लामो समयसम्म भाइरसबाट सृुरक्षित रहने सम्भावना हुन्छ।
डा. लहरिया भन्छन्, ‘धेरैजसो खोपले यही सिद्धान्तअनुसार काम गर्छन्। पहिलो डोजले खासै असर देखाउँदैन, दोस्रो डोज दिएपछि मात्र प्रभाव देखिन्छ।’
एकै किसिमको भाइरसले फरक-फरक व्यक्तिमा फरक-फरक असर पार्छ भने फेरि खोप सबैका लागि कसरी प्रभावकारी हुन्छ?
जब कुनै भाइरस व्यक्तिको शरीमा प्रवेश गर्छन तब उसमा हुने रोगका लक्षण के के हुन्छन् भन्ने कुरा धेरै कुरामा भर पर्छ, भाइरसमा मात्र होइन।
संक्रामक रोग विशेषज्ञ डा. तृप्ति गिलाडाका अनुसार व्यक्ति बिरामी हुनुमा कारण भाइरस मात्र हुँदैन। यो कुरा उसको उमेर, रोग(प्रतिरोधक क्षमता, स्वास्थ्यमा पनि भर पर्छ। तर बिरामीमा जुनसुकै लक्षण होउन्, सबैको
शरीरमा एन्टिबडी विकास हुन्छ। चाहे लक्षणवाला बिरामी हुन्, वा लक्षणविहीन, सबैको शरीरमा एन्टिबडी बन्छ।
ठीक त्यसैगरी जब कुनै व्यक्तिलालई खास भाइरसविरुद्ध खोप दिइन्छ, भाइरसको आनुवांशिकताका आधारमा एन्टिबडी विकास हुन्छ। यो कुरा दुर्लभ हुन्छ कि कसैको शरीरमा एन्टिबडी नबनोस्।
डा. तृप्ति भन्छिन्, ‘कोरोनाविरुद्ध खोपका विषयमा अहिलेसम्म कुनै भविष्यवाणी गर्न सकिएको छैन कि खोप कति प्रभावकारी हुन्छ?’ बीबीसी हिन्दीबाट
प्रतिक्रिया