पशुपति क्षेत्रमा छठ पूजाको तयारी तीव्र पारिएको छ। गुह्येश्वरीमा छठ मनाउन मानिसहरुको विशेष भीड हुने गरेको छ। शंखमूल, कमलपोखरीमा समेत मानिसहरु छठ मनाउनथालेका छन्। यो वर्षको अर्को महत्वपूर्ण पर्व छठ आजदेखि सुरु भएको छ। तराईमा विशेष रुपमा मनाइने यो पर्व केही वर्षयता काठमाडौं उपत्यकामा पनि मनाइनथालिएको छ।
यसका लागि बाँस गाड्ने, घाट सजाउने लगायका काम तीव्र पारिएको छ। छठ पूजा समितिका अनुसार यसपटक ६ सय ५० भन्दा बढी छठघाट निर्माण हुनेछन्। यो वर्ष आउँदो शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सकिन्छ। छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ। परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ।
प्रतिक्रिया