राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ।
काठमाडौंसहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका अन्य नेताहरुले सिंहदरबारको मुलद्वारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए।
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए।
त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका हुन्।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दुरदृष्टियुक्त पाइन्छ।
आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उनको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।
Shares
प्रतिक्रिया