जन्मथलो छाडेर विदेशिने अधिकांशका बाध्यता आ–आफ्नै छन्। कति परिवारको ऋण तिर्न विदेशिएका छन् भने कति देशभित्र कुनै अवसर नपाएपछि खाडी मुलुककाे बाटो रोजेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमाानस्थलको प्रस्थान कक्षमा केहीबेरमात्रै उभिएर हेर्ने हो भने, त्यहाँका दृश्यले जो कोहीलाई भावुक बनाउँछ।
उत्साहित हुँदै उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीदेखि खाडी मुलुकको गन्तव्य तय गरेका दुःखी अनुहारहरू विमानस्थलमा सधैं देखिने नरमाइला दृश्यहरू हुन्।
शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क उड्दै थिए। त्यही समय विमानस्थलको प्रस्थान कक्षमा पुग्दा त्यहाँ यस्तै यस्तै केही भावुक दृश्य देखिन्थ्यो।
विमानस्थलको भीडमा भेटिएका सयौंमध्येका एक थिए– बागलुङका नेत्र रिसाल।
उनी कतार जानका लागि शनिबार साँझ विमानस्थल पुगेका रहेछन्। नेपालमा बसेर केही गर्न नसकेपछि आफू विदेश जान लागेको उनले सुनाए।
‘घरमा परिस्थिति त्यस्तै छ। नेपालमा बसेर केही गर्न सकिएन। नेपालमा पनि केही ट्राइ त गरेँ,’ उनले नेपालखबरसँग भने, ‘तर यहाँ भनेकोजस्तो केही गर्ने अवसर नै पाइएन्।’
सोही भीडमा भेटिइन् अर्की एक युवती–स्वीकृति न्यौपाने। झापाको गौरादह स्थायी घर भएकी उनी पढाइको शिलशिलामा दक्षिण कोरिया जान लागेकी रहेछिन्।
नेपालमा गुणस्तरिय शिक्षा नहुँदा आफू पढ्नकै लागि विदेशिनु परेको बाध्यता उनले सुनाइन्।
‘नेपालमा पढेपछि पनि काम गर्ने वातावरण पनि नभएपछि विदेशिनुपरेको छ,’ उनले भनिन्, ‘फर्कने सोच त छ, तर त्यतिबेला आउँदा आफूले देश बाहिर गरेको अध्ययनको सम्मान हुनेगरी कामको अवसर होस् भन्ने सोचेको छु।’
रिसाल र न्यौपाने त विमानस्थलमा भेटिएका प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्तै बाध्यता र पीडा बोकेर अहिलेपनि हजारौं नेपाली युवाहरू दैनिक विदेशिएका छन्।
हेर्नुस् केही तस्बिरहरूः
Shares
प्रतिक्रिया