शुक्रबारदेखि दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको आयोजना हुने यो प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी छन्।
त्यसैगरी उद्घाटन समारोहमा भाग लिन एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्य पनि एन्फा कम्प्लेक्समा पुगेका छन्।
सार्वजनिक कार्यक्रममा ओली र पूर्वराष्ट्रपति भण्डारी दोस्रो पटक एकसाथ देखिएका हुन्। केपी ओली कप उद्घाटनका लागि सुरुमा ओली दम्पती सातदोबाटो पुगेका थिए।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारी पुगिन्। उनलाई एमाले अध्यक्ष ओली र युवासंघ नेपालका अध्यक्ष क्षितिज थेवेले स्वागत गरे।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा पुनरागमनको चर्चा छ। तर अध्यक्ष ओली उनलाई एमालेको राजनीतिमा पुनरागमन गराउन अनिच्छुक रहेको समाचार आएका थिए।
तर केही समययता ओली र पूर्वराष्ट्रपति भण्डारी सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थालेका छन्।
केपी ओली कपमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी र आयोजकसहित १० टिमले सहभागिता जनाउने छन्।
जावलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउँदै छन्।
उक्त प्रतियोगिताका पहिलो चरणका खेल ११ देखि १६ गतेसम्म एन्फा कम्प्लेक्स सातदोबाटो हुनेछन्।
सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशालामा हुनेछन्। यो प्रतियोगिताको विजेता टोलीले ११ लाख पुरस्कार पाउने छ।
उपविजेताले ५ लाख दिइनेछ। उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार दिइनेछ।
Shares
प्रतिक्रिया