ad ad

राजनीति


सरकारको कूटनीतिक असक्षमताले कोरोना खोप आएन : सांसद देव

सरकारको कूटनीतिक असक्षमताले कोरोना खोप आएन : सांसद देव

नेपालखबर
असार २३, २०७८ बुधबार १४:५२,

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन्। अपरिपक्क कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले ‘सरकार किन फेल भयो?’ भनी प्रश्न गरे।

उनले भने, ‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा फेल भएको स्थिति छ। कूटनीतिक प्रयासहरु फेल भएकोे छ। यो कसरी भयो किन फेल भयो? ती देश र ती कम्पनीहरुसँगको नेपालको सम्बन्ध किन चिसो भयो? नेपालको सरकारसँग किन डिल गर्न चाहेनन्।  दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन। यो कुरा महसुस गर्ने कि नगर्ने? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरुसँग तुलना नगरियोस्। यो मेरो प्रश्न हो। फेल भएको हो कि होइन सरकार? यो महसुस गर्ने कि नगर्ने?’
राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे। ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन्।

कमिसन एजन्टहरुको घेराउमा सरकार

उनले वर्तमान सरकार कमिसन एजेन्टहरुको घेराउमा परेको दाबी पनि गरे। उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे। कमिसन एजेण्टले पैसा नपाएको कारणले कोभिडशिल्ड खोप नआएको दाबी गरे।

उनले भने, ‘कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पूर्वस्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले भनिसक्नुभएको छ कमिसनको खेलको कारण। कमिसन एजेन्टहरुले अहिलेको सरकारलाई घेरिराखेको छ। मेरो आरोप त्यो छ।’

उनले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरे।

उनले भने, ‘परराष्ट्र मन्त्रालयलाई पंगु बनाईएको छ। अहिलेको सरकारले परराष्ट्र मन्त्रीलाई पंगु बनाएको छ। कार्यकर्तालाई भर्ति गर्ने केन्द्र बनाएको छ। डिप्लोमेसीको डि नजान्नेले पोलिटिकल लिडरसिप लिएको छ। सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न सकिरहेको छैन। त्यही कारणले डिप्लोमेटिक डिलिङ कम्प्लिट फेल भएको छ। कूटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौं। यसलाई रियलाइज गर्न सरकार तयार छ कि छैन? सरकारले आफ्नो फेलियरलाई लुकाउनका लागि सम्मानित संस्था राष्ट्रपतिको संस्थालाई चिठी लेखाउने हो? म त यसलाई चाइल्डलिस्ट डिप्लोमेसी भन्छु। बच्काना कूटनीतिक मुभ भन्छु यसलाई। गल्ती गरेको छ नेपाल सरकारले रियलाइज गर्ने कि नगर्ने? राष्ट्रपतिबाट खोप ल्याउने सन्र्दभमा चिठी लेखाउने कामै गर्नुहुँदैनथ्यो। गर्नै हुँदैनथ्यो। मेरो च्यालेञ्ज छ।’

राष्ट्रियसभा सदस्य देवले कूटनीतिक असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्तत एउटा देशसँगको सम्बन्धमा गएर सिमित भएको दाबी गरे। परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताए।

उनले भने, ‘हाम्रा परम्परागत मित्रहरु चीन भारत, अमेरिका, जापान लगायतका जर्मनी फ्रान्स जस्ता देशहरु र हाम्रो रिलेसन कोल्ड भयो। नेपाली कांग्रेसको कन्सन्ट त्यो हो। सम्बन्धलाई बनाउन, मिठास बनाउ प्रोएक्टिभ बनाउन मुलुकले धेरै मेहनत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सिमित हुनु परेको छ।’

उनले वैदेशिक नीतिको सञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सिमित भएको दाबी गरे। उनले कोरोना महामारी विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधै तयार रहेको बताउदै आएपनि सरकारले प्रतिपक्षी दलहरुसँग कहिल्यै सहयोग नमागेको गुनासो गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .