नेकपा एमालेका एकजना नेता रघुजी पन्तले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला अध्यक्ष केपी शर्मा ओली समर्थक कार्यकर्ताले जलाएपछि आक्रोश पोखेका छन्। ओली पक्षीय कार्यकर्ताले शंख बजाउँदै नेता नेपालको पुत्ला जलाएको भिडियो सोमबार भाइरल भएको थियो।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरणको निर्णय गरेर ओलीले पार्टी झनै फुटाउन खोजेको तर्क गरेका छन्। 'चौबीस घण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपालविरूद्ध नारा लाएर, पुत्ला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन?', उनले सोधेका छन्, 'पार्टी अध्यक्ष आफैँले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र व्यवहार किन र केका लागि?'
उनले मनैदेखि एकता चाहेको हो भने व्यवहार पनि त्यस्तै चाहिने पनि उल्लेख गरे। 'मनैदेखि एकता चाहेको हो भने त्यही अनुसार व्यवहार गरौँ। सबै संयमित र जिम्मेवार बनौँ', उनले अगाडि भनेका छन्।
पन्तले सर्वोच्च अदालतको असार २८ को फैसलाविरुद्ध नारा जुलुस गरेर एमाले एक नहुने पनि जिकिर गरेका छन्। 'सर्वोच्च अदालतको फैसलाविरुद्ध नारा जुलुस गर्ने र प्रधानन्यायाधीशविरुद्ध नारा लगाउँदै पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका ओली, न्याय, कानुन र संसदीय व्यवस्था मन्त्री भइसकेका सुवास नेम्वाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका?', उनले सोधेका छन्, 'आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला।'
अहिले सडकमा पुत्ला जलाउनेसहितका रमिताले एमाले नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाएको पनि उनले बताएका छन्। 'अहिले सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भइरहेको छ। त्यसले एमालेको मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ', पन्तले थपेका छन्, 'लामो समयसम्म हामीले यी गतिविधिका कारण जनतामाझ रातो मुख लगाउनु पर्नेछ। यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु। हामी तपाईंहरुले अपेक्षा गरेजस्तो हुन सकेनौँ, माफ गर्नुहोला जनता जनार्दन!'
Shares
प्रतिक्रिया