ad ad

राजनीति


चितवनका २ वडाः नेकपा र कांग्रेसकै बीचमा प्रतिस्पर्धा

चितवनका २ वडाः  नेकपा र कांग्रेसकै बीचमा प्रतिस्पर्धा

नारायण अधिकारी
मंसिर २, २०७६ सोमबार ७:३५,

यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ। भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार÷चारजना उम्मेदवार रहेका छन्। पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी मैदानमा छन्।

भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली कांग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी खैरहनी–४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराएका हुन्।

खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली काँग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्।

यसअघिको निर्वाचनमा भरतपुर–१६ मा तत्कालीन नेकपा एमाले र खैरहनीका दुवै वडामा नेपाली काँग्रेसले निर्वाचन जितेको थियो। भरतपुर–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोग र खैरहनीका वडाध्यक्षद्वय नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो।

ती वडाहरुमा नेकपा र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा रहेको छ। नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएकाले तीनै स्थानमा आफ्नो जित हुने दाबी गरे। नेकपाले भरतपुर–१६ मा उठाएका उम्मेदवार हमाल पूर्वशिक्षक हुन भने खैरहनीका अधिकारी र प्रधान स्थानीय समाजसेवी हुन।

परियारले तीनवटै वडामा समिति निर्माण गरी प्रचारप्रसारको काम भइरहेको बताए। नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले तीनवटै वडामा कांग्रेसले जीत हासिल गर्ने दाबी गरे। खैरहनीका दुवै वडा यसअघि कांग्रेसले जितेको र भरतपुरमा झिनो मतले पराजित भएका व्यक्ति उम्मेदवार रहेका छन्। सभापति श्रेष्ठले अहिलेको सरकार र यहाँको जनप्रतिनिधिबाट जनअपेक्षाअनुसार काम नभएकाले कांग्रेसका पक्षमा मत आउने दाबी गरे। कांग्रेसले भरतपुर–१६ मा यसअघि पराजित भएका हमाल, खैरहनी–४ मा कार्यवाहक भएर काम गर्दै आएका वडा सदस्य बस्नेत र ५ मा मृत्यु भएका वडाध्यक्षका श्रीमती कार्कीलाई उम्मेदवार बनाएको छ। तीनवटै वडामा समिति बनाएर प्रचारप्रसारलाई तीव्रता दिइएको छ।

दलहरुले आवश्यकताअनुसार जिल्ला र केन्द्रका नेता डाकेर प्रचार अभियान अगाडि बढाएका छन्। यसअघिको निर्वाचनमा भरतपुर–१६ मा नेकपा एमालेले दुई हजार १३२, नेपाली कांग्रेसले दुई हजार ६८, माओवादी केन्द्रले ९८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले नौ मत प्राप्त गरेका थिए।

यस्तै खैरहनी–४ मा नेपाली कांग्रेसले ७३५, नेकपा एमालेले ६७१, माओवादी केन्द्रले ३८६ र राप्रपाले २६ मत प्राप्त गरेका थिए। खैरहनी–५ मा नेपाली कांग्रेसले ६२७, नेकपा एमाले ३९८ माओवादी केन्द्र २७३, राप्रपा १२, राष्ट्रिय जनमोर्चा सात र नयाँ शक्तिले १३ मत पाएका थिए।

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लामा ६ मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ। मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिनेछ। ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .