नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई एकीकृत गर्ने काम आफ्नो नेतृत्वमा मात्र सम्भव भएको दाबी गरेका छन्। कसैलाई यो कुरा मीठो नलाग्न सक्ने तर यथार्थ यही भएको जिकिर गरे।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।
‘साथीहरुले मलाई फेरि पनि कसैलाई मिठो नलाग्न पनि सक्छ। माओवादी आन्दोलनलाई एकीकृत गर्ने काम प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ,’ प्रचण्डले अघि भने, ‘मेरा कमजोरी भए पनि यथार्थ यही हो। यसमा कोही लाज नमानौं। यो राष्ट्र, वर्ग र जनताको आवश्यक्ता हो।’
प्रचण्डले आफ्नो कमजोरी पनि औंल्याएका छन्। ‘कमजोरी भनेको मेरो उदार हुने हो। इतिहासदेखि नै हो,’ उनले भने, ‘मसँग फर्किएर आएपछि जिम्मेवारी दिउँदिउँ हुन्छ। म बढी खुसी हुन्छ।’
माओवादी जनयुद्ध ऐतिहासिक विद्रोह भएको भन्दै आत्मसमीक्षा जरुरी भएको उनले बताए।
‘एकपटक हामी सबै माओवादीले आत्मसमिक्षा गरेर जनतालाई विकास र समृद्धितिर लाने नेतृत्व पूरा गर्ने हो भने देशको अत्यधिक ठूलो संख्याले साथ दिनेछ,’ प्रचण्डले भने, ‘कसैले हाम्रो विजयलाई रोक्न सक्ने छैन्। हामी सबैले आत्मसमिक्षा गरौं।’
पार्टीको गत मंसिरमा सम्पन्न ८ औं महाधिवेशनमा माओवादीभित्रको गल्ती कमजोरीको आत्मसमीक्षा आफूले गरेको प्रचण्डले बताए।
यसअघि आफूलाई छाडेर गएकाहरु माओवादीमा फर्कंदा ज्यादै खुसी लाग्ने बताए। ‘म सँग फर्किएर आएपछि जिम्मेवारी दिउँदिउँ हुन्छ। म बढी खुसी हुन्छ,’ उनले भने।
भिडिओ–
Shares
प्रतिक्रिया