संसदबाट पास गरिएको नागरिकता विधेयकविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिबार अपरान्ह मसाल जुलुस निकालेको छ।
यो कानुनले मुलुकको राष्ट्रियता, सम्प्रभूता,अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विरोध जनाएका हुन्।
नागरिकता विधेयकका बुँदाहरु विवादास्पद,अनुचित र राष्ट्रहितविपरित जनाउँदै शनिबार साँझ पार्टीसम्वद्ध युवक,विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले मसाल जुलुस निकालेका हुन्।
नागरिकता कागजको खोस्टो मात्रै नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको भएको भन्दै राप्रपा नेपालसम्वद्ध जनवर्गीय संगठन युवक,विद्यार्थी र युवा मोर्चाले संसदबाट पास गरिएको विधेयकको विरोध गरेका हुन्।
बिहे गर्नासाथ कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहीँ नभएको भन्दै नेताहरुले आक्रोश पोखे।
सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा दुई मत नभए पनि विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड् बिषय अस्वीकार्य भएको नेताहरुले बताए।
सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेलाई जनताले दण्ड दिनुपर्ने उनीहरुले बताए।
बिहे गरेर आएकाहरुलाई समय सीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने प्रदर्शनकारीहरूको माग छ।
विशालनगरबाट शुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी , चिनियाँ दूतावास हुँदै बालुवाटार पुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रदर्शनकारी विद्यार्थी नेता सन्दीप खड्का पक्राउ परेका राप्रपा महामन्त्री राजाराम बर्तौलाले बताए।
Shares
प्रतिक्रिया