पौने दुई घण्टा ढिलो गरेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ।
महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु भएको हो।
बिहन ११ बजेदेखि सुरु हुने भनिएको बैठक बयानका मापदण्ड निर्माणमा समितिका सदस्य र कर्मचारी अल्झिएपछि ढिला भएको हो।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर पौन १ बजे मात्रै जबराको बयान सुरु भएको हो।
समितिको बैठकमा बयान दिन चोलेन्द्र १० बजेर ५५ मिनेटमै सिंहदरबार छिरिसकेका थिए।
मापदण्ड बनाउन जुटेका सांसदहरु जबरासँग बयान लिने बैठकमा पत्रकारहरुलाई छिर्न दिने नदिने विषयमा पनि विभाजित भएका थिए।
एमालेका सांसदहरुले छिर्न दिनुपर्छ भनेका थि भने कांग्रेसका सांसदहरु भने पत्रकारलाई छिर्न नदिइ जबराको बयान लिनुपर्ने तर्क गरेका थिए।
तर पत्रकारहरुलाई छिर्न निषेध गरेर जबराको बयान भइरहेको छ। बैठकको सुरुको फोटो र भिडिओ कैद गर्न दिएपछि पत्रकरहरुलाई बैठकस्थलबाट निकालेर बयान लिन थालिएको हो।
समितिका सदस्य सांसदहरु पनि साढे ११ तिर मात्रै समितिको सभाकक्षमा छिरेका थिए। सांसदहरुले नै ढिला गरिदिएपछि बयान ढिलो गरी सुरु भएको हो।
यो समिति गठन भएको झन्डै ६ महिनापछि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। त्यसपछि जबरासँग बयान लिने गरी दोस्रो बैठक बसेको हो।
महाभियोग सिफारिस समिति ११ सदस्यीय छ। जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित छन्।
कांग्रेसबाट समितिमा रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।
Shares
प्रतिक्रिया