राप्रपा नेपालले मेचीदेखि महाकालीसम्म स्वाभिमान यात्रा गर्ने भएको छ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा आज (बिहीबार) सम्पन्न सचिवालयको बैठकले सो निर्णय गरेको हो।
राप्रपा नेपालले २०७९ मंसिर ४ गतेलाई दृष्टिगत राखी निर्वाचनपूर्व तयारीका सन्दर्भमा विभिन्न निर्णयहरु गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले बताए।
उनका अनुसार मेचीको काँकडभिट्टाबाट भाद्र ३० गते सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको गड्डाचाैकी पुगी काठमाडौं आएर समापन हुनेछ।
यस्तै, बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको छ।
आजको बैठकमा महामन्त्री सुशिल कुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरण प्रस्तुत भएको थियो।
Shares
प्रतिक्रिया