राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको घटनाप्रति नेपाल पत्रकार महासंघले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघका महासचिव रोसन पुरीले बुधबार विज्ञप्ति जारी गरी पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
संविधान सबैले अक्षरशः पालना गर्नुपर्नेमा जोड दिँदै महासंघले अबको घटनाक्रमलाई पनि संवैधानिक विधिबाटै निकास दिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
‘जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैँ उभिँदै आएको छ। संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सधै क्रियाशील रहँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाहरूलाई पूर्णतः पालना गर्नपर्दछ भन्ने कुरालाई महासंघ विशेष जोड दिन चाहन्छ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘पछिल्लो घटनाक्रमलाई संवैधानिक विधिबाट निकास दिई कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न महासंघ सम्बन्धित पक्षहरूलाई आग्रह गर्दछ।’
Shares
प्रतिक्रिया