ad ad

राजनीति


मलाई मौका दिनुस्, अर्को चुनावमा भोट माग्नै नपर्ने स्थिति बनाउँछु : प्रदीप पौडेल

मलाई मौका दिनुस्, अर्को चुनावमा भोट माग्नै नपर्ने स्थिति बनाउँछु : प्रदीप पौडेल

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ११:३८, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ मा अर्को पटक निर्वाचन लड्दा मतदाता आफैंले खोजी–खोजी मतदान गर्ने स्थिति निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

कांग्रेसको काठमाडौं–५ ‘क’ क्षेत्रीय कार्यसमितिले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा उनले जितेर गएपछि अर्को पटक निर्वाचन लड्दा मतदाता आफैंले खोजी–खोजी मतदान गर्ने स्थिति निर्माण गर्ने प्रतिवद्धता जनाएका  हुन्। 

‘हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं– हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भाट मागिरहनु पर्दैन,’ नेता पौडेलले भने, ‘हामीलाई खोजी–खोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौं।’

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति ईंगित गर्दै काठमाडौं–५ बाट निर्वाचन जितेर जनताको पक्षमा कुनै काम नगरेको टिप्पणी गरे। ‘कसैले धेरै फुर्ती नगरे हुन्छ,’ पौडेलले भने, ‘चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्।’

मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट पौडेललाई काठमाडौं–५ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ। 

उनीसँग एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष पोखरेल प्रतिष्पर्धा गर्दैछन्। उनी २०७४ को निर्वाचनमा कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

नेता पौडेलले समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व गरेको कांग्रेस पछिल्ला दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जाने सन्दर्भमा अलमलिएको पनि जिकिर गरे। 

‘नेपालको राजनीतिक संस्कृति विकास गर्ने पार्टी हो नेपाली कांग्रेस। समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व गरेको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने, ‘आजको दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जाने, परिवर्तनको बाटोतिर लिएर जाने सन्दर्भमा हामी अलिबढी अलमलिएको स्थिति छ।’

राजनीति नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा समाजमा स्थापित गर्न सक्नुपर्नेमा पौडेलको जोड थियो। ‘हाम्रो लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न गर्दैन, त्यसमा दुविधा भएन,’ उनले भने, ‘तर, राजनीति निष्ठका लागि हो, राजनीति इमानका लागि हो, राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा हामीले समाजमा स्थापित गर्न सक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .