नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंगलबारबाट चुनावी प्रचार अभियान सुरु गर्ने भएका छन्।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा सोमबार पत्रकार सम्मेलन गरेर उनले चुनावी प्रचार अभियानबारे जानकारी दिएका हुन्।
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–१ मा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका नेता सिंहले प्रदेशसभा ‘ख’ अन्तर्गत गर्ने शंखमुलबाट चुनावी अभियान सुरु गर्ने बताइएको छ।
उनको सचिवालयले एक दिन प्रदेशसभा ‘क’ र अर्को दिन प्रदेशसभा ‘ख’ मा चुनावी अभियान गरिने बताएको छ। सिंहले बिजुलीबजार स्थित सम्पर्क कार्यालयबाटै प्रचारप्रसार अघि बढाउने तयारी गरेका छन्।
काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडाहरु समेटेर निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रचारप्रसारका लागि उनले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा २ हजार १ सदस्यीय प्रचारप्रसार समिति गठन गरेका छन्।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिंहले काठमाडौं– १ मा ‘ह्याट्रिक’ गर्दै चुनाव जितेका थिए। उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराएका थिए।
मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।
सत्ता गठबन्धनले आशन्न निर्वाचनमा नेता सिंहसँगै प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ ‘क’ मा माओवादीबाट दिपेन्द्र श्रेष्ठ र ‘ख’ मा कांग्रेसका तर्फबाट सुरजचन्द्र लामिछानेलाई उम्मेदवार बनाएको छ।
यो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले किरण पौडेललाई खडा गरेको छ। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रवीन्द्र मिश्र, विवेकशील साझा पार्टीबाट शंकर बञ्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल, हाम्रो नेपाली पार्टीबाट डम्वर साहु, नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठलगायतका नेताहरु कांग्रेस नेता सिंहसँग प्रतिष्पर्धामा उत्रिएका छन्।
Shares
प्रतिक्रिया