ad ad

राजनीति


ओलीलाई देउवाको प्रश्न : दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?

ओलीलाई देउवाको प्रश्न : दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १६:३७, काठमाडौँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ? भन्दै प्रश्न गरेका छन्। शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधनको क्रममा देउवाले सो प्रश्न गरेका हुन्।

‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?’ प्रधानमन्त्री देउवाले भने, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो।’ उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे।

निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

‘समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ’, चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ।’

सो अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए।

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए। त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो। ‘अति नै भएपछि हामी अदालत गएका हौँ।’ देउवाले भने,

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताए। ‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ’, देउवाले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ।’ डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो। उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ।’

सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .