ad ad

राजनीति


ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ, पाँच वर्ष नै कायम रहन्छ : पुन

ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ, पाँच वर्ष नै कायम रहन्छ : पुन

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १०:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन कम्तीमा पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्।

लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए। 

०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको आरोप उनले लगाए। 

उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको आरोप लगाउँदै नेता पुनले पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद् विघटन गरेको टिप्पणी गरे।

‘पाँच वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरूले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरूले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो। प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो। उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो।’

पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको आरोप लगाए। राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप पनि उनले लगाए।  

नेता पुनले भने, ‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरूलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने। सचिवहरूमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरूलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारहरूको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो।  बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो। आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो।’ 

निरंकुशता रोक्न र प्रतिगमन सच्याउन गठबन्धन बनेको उनको भनाइ छ। जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको दाबी गरे। 

राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको उनले बताए। नेता पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए। एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनले बताए। 

सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले व्यवस्था बदल्यौँ। अब अवस्था बदल्छौँ। विगतमा भन्दा विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्रहरूको निर्माण तीव्र गतिमा भइरहेको छ। हाम्रो निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत दिँदैन। राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ। जनताको अवस्था बदल्नु छ।’

विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्यअनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे। 

रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हातलमा सहयोग नहुने बताए। रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दिपेन्द्र पुनले बागी उम्मेदवारी छन्। सो प्रदेशमा काँग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे। 

उनले अघि भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौँ। तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौँ। शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन। आपसमा मेलमिलाप गरेका छौं। रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो, अब मेलमिलापको केन्द्रका रूपमा परिचित गराउन चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .