ad ad

राजनीति


प्रहरी र सरकारी वकिलको स‌युंक्त सम्मेलन हुने

प्रहरी र सरकारी वकिलको स‌युंक्त सम्मेलन हुने

नेपालखबर
पुस २, २०७६ बुधबार ११:५६,

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो सम्मेलन पौष ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। 

अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई एकै ठाउँमा जम्मा गरी अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्ने तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य सहित महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। कार्यक्रममा न्याय प्रशासनसँग सम्बन्धित सबै निकायका उच्च तहका पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले फौजदारी न्याय प्रणाली र प्रशासनसँग सम्बन्धित सम्मेलन भएकाले न्यायीक कार्यहरुसँग जोडिएका सबै पक्षको समस्टिगत सहभागिता रहने बताए।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीशहरुको समेत सहभागिता रहने हुँदा विद्यमान कानूनी व्यवस्था र दैनिक जीवनमा आएका घटना र समस्याहरुमाथि छलफल हुने उनले बताए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकिलहरुसँग भएका कानूनी र व्यवहारिक अनुभवहरुको विश्लेषण सम्मेलनमा हुने बताए। उनले सम्मेलनबाट आगामी दिनमा गरिने अनुसन्धानलाई थप प्रभावकारी बनाउन सकिने आधारहरु आउने विश्वास समेत व्यक्त गरे।

तीन दिन सम्म सञ्चालन हुने सम्मेलनमा ३ सय २० जना अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु, २ सय ७० जना अभियोजनकर्ता सरकारी वकिलहरु र ३५ जना पर्यवेक्षकहरु सहित ६ सय २५ जनाको सहभागिता रहनेछ। सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्था, मुलुकी फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था लगायतका विषयमाथि छलफल हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .