ad ad

राजनीति


कांग्रेसः सात जना महामन्त्री माग्दा ६ दिन बैठक स्थगित

कांग्रेसः सात जना महामन्त्री माग्दा ६ दिन बैठक स्थगित

सागर न्यौपाने
पुस ४, २०७६ शुक्रबार १२:३०,

पार्टी विभागको संख्या बढाउने, भ्रातृसंस्था नेपाल विद्यार्थी (नेवि) संघ र तरुण दलको भागवण्डा लगायत विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहसँग सहमति नहुँदा कांग्रेस कार्यसमिति बैठक शुक्रबार पनि स्थगित भएको छ।

पौडेल समूहसँग अन्तिम सहमतिका लागि कार्यसमिति बैठक पुस १० गतेलाई सारिएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

१४औैं महाधिवेशन २०७७ को फागुनमा गर्ने कार्यतालिका सार्वजनिक गर्ने विषयमा दुई पक्षबीच करिब समझदारी बनिसकेको छ।

तर, पार्टी विभागहरुको संख्या बढाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव, नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्व पाउनुपर्ने र नेवि संघमा महामन्त्री थप गरी त्यसमा पनि सम्मानजनक संख्या पाउनुपर्ने पौडेल समूहको माग लगायतका विषयमा सहमति नभएपछि कांग्रेस कार्यसमिति बैठक दुईपटक बस्दै नबसी स्थगित भएको हो।

विहीबार बेलुका उपसभापति विमलेन्द्र निधिले पौडेल समूहलाई विभागहरुको संख्या थप गर्ने र नेविसंघमा महामन्त्री संख्या ४ बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि, महामन्त्रीको संख्या थप गर्ने हो भने ७ बनाउनुपर्ने र त्यसमध्ये ३ जना आफ्नो समूहलाई दिनुपर्ने पौडेल समूहले सर्त राखेपछि सहमति नभएको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले दाबी गरे।

‘उहाँहरु आफूलाई मात्रै केन्द्रमा राखेर भाग खोजिरहनुभएको छ, नेविसंघमा ७ जना महामन्त्री बनाउने कुरा बैज्ञानिक छैन,’ उनले भने।

पौडेल समूहका वार्ता टोली सदस्य हृदयराम थानीले देउवा समूहबाट नेविसंघमा ४ जना महामन्त्री थप गर्ने प्रस्ताव आएपछि आफूहरुले ७ जना बनाउन प्रस्ताव गरेको स्वीकारे।

शुक्रबार विहान पौडेल निवास बोहोराटारमा भएको छलफलमा पार्टीभित्र आफ्नो शक्तिअनुसार कुरा गर्ने र साथीहरु सबैलाई मिलाउनको लागि पनि ७ जना महामन्त्रीको माग गर्ने निर्णय भएको उनले बताए। थानीले नेपालखबरसँग भने, ‘अलिकति संख्या बढाउँदा सबै साथीहरुलाई मिलाउन सकिन्छ र विवाद मिल्छ भने विकल्पमा पनि कुरा गरौं भनेका हौं।’

नेविसंघमा निर्वाचित २ र एकजना मनोनित गरी ३ जना महामन्त्री रहने व्यवस्था छ। थप गरेको म्याद समेत सकिएपछि नेविसंघ कार्यसमिति अहिले अस्तित्वमैं छैन। पुरानै कार्यसमितिलाई ब्युँताएर ६ महिना समय थप गरेर लैजाने तयारी भएपछि पौडेल समूहले भागवण्डा खोजेको हो।

उपसभापति निधिले पछिल्लो गतिरोध सुल्झिन नसक्नुका तीन कारण बताए।

उनका अनुसार पार्टीमा विभाग संख्या थप गर्ने, नेविसंघको महामन्त्री थप गर्ने र नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व दिने विषयमा सहमति हुन सकेको छैन।

विहीबार बेलुका प्रकाशमान सिंह निवासमा आफू र पौडेल समूहको वार्ता टोलीबीच छलफल भए पनि तिनै तीन विषयमैं सहमति नभएको र त्यसकै लागि शुक्रबार बोलाइएको बैठक पुस १० गतेसम्मलाई स्थगित गरिएको निधिले बताए।

यसअघि पनि मंसिर ३० र पुस २ गते बोलाइएको बैठक बस्दै नबसी शुक्रबारलाई सारिएको थियो। ६ दिनपछि बस्ने बैठकमा सहमति गर्न केही नेताहरुको सक्रियता जारी छ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो अवधिमा अधिकतम प्रयास गरेर सहमति बनाउने बताए। पार्टीभित्रको आन्तरिक विवाद बढ्दै गए त्यसले समस्या बल्झाउने खतरा बढेपछि आफूहरुको सक्रियतामा सहमतिको अधिकतम प्रयासका लागि ६ दिन पहल गर्न बैठक स्थगित गरिएको र यो अवधिमा एउटा निचोडमा पुग्ने उनले दाबी गरे।

‘पछिल्ला दिन पार्टीभित्र ठूला नेताहरुबीच विवाद हुन थाल्यो। अब त्यसलाई रोकेर निकास दिन आवश्यक छ, त्यसैको लागि हामीले सक्रियता लिएका छौं। ६ दिनमा एउटा निष्कर्ष निस्कन्छ,’ उनले भने।

तर, सभापति शेरबहादुर देउवा समूहका नेताहरु भने पौडेल समूहभित्र नै कुरा नमिलेको दाबी गर्छन्। केन्द्रीय सदस्य रमेश लेखकले पौडेल समूहभित्र रहेका नेताहरुमै एकता नभएको जस्तो देखिएको बताए।

हाँहरुबाट आएका नयाँ नयाँ माग त्यसकै कारण भएको उनले टिप्पणी गरे। पौडेल समूहमा महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला लगायत छन्।

मंसिर २७ गतेदेखि देउवा पक्ष र असन्तुष्ट पौडेल समूहबीच पटक पटक वार्ता भएपनि कुनै निचोडमा पुग्न सकेको छैन।

पौडेल समूहले बुधबार छुट्टै भेला राखी ५ बुँदे मागलाई ‘बटमलाईन’का रुपमा अगाडि सार्ने निर्णय गरेको थियो।

१० गते होला सहमति?

कांग्रेसका केहि नेताहरु १० गते पनि सहमति हुने कुरामा ढुक्क छैनन्। देउवा र पौडेल समूह आ–आफ्ना अडानमा अडिग रहेर वार्तामा बसेकै कारण सहमति नभएको नेताहरु बताउँछन्। केन्द्रीय सदस्य कमला पन्तले दुबै पक्षको अडानले बैठक प्रभावित भएको बताइन्।

विश्लेषक पुरञ्जन आचार्य कांग्रेसका सबै नेताहरुलाई १४औं महाधिवेशन लागिसकेको र आफ्नो मोर्चा बलियो बनाउने तयारी हुँदा सहमति हुन नसकेको विश्लेषण गर्छन। नेपालखबरसँग कुरा गर्दै आचार्यले भने, कांग्रेसका सबैलाई १४औं महाधिवेशन लागिसकेको छ। आफ्नो मोर्चा कसरी बलियो बनाउने र ठूलो अंश लिने होडवाजी भइरहेको छ,’ उनले भने

‘महाधिवेशनका लागि आफ्ना निकायहरु र नेताहरुलाई जिम्मेवारी दिने योजना दुबै पक्षले लिएका कारण कुरा नमिलेको हो। पुस १० गतेसम्म सबै सहमतिमा आउँछन्।’
असन्तुष्ट पौडेल समूहसँग वार्ताको जिम्मेवारी पाएका उपसभापति विमलेन्द्र निधिपनि १० गते सहमति हुने दाबी गर्छन।

‘हामीले अन्तिम सहमतिकै लागि धेरै दिनको अन्तराल राखेर १० गते बैठक राखेका हौं,’ उनले भने। नीधिले सहमति नबने आफ्नो ढंगले अघि बढ्ने जनाउ समेत दिए। ‘अहिले हामी सहमतिको प्रयासमा छौं। प्रशस्तै समय पनि दिएका छौं। यसबीचमा सहमति नभए विकल्पमा जानेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .