ad ad

राजनीति


वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : ईश्वर पोखरेल

वाम दल एकजुट भएर सरकारको नेतृत्व गर्न एमालेले भूमिका खेल्यो : ईश्वर पोखरेल

नेपालखबर
पुस २३, २०७९ शनिबार १९:३७, काठमाडौँ

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले विशिष्ट ढंगले अगाडि बढाएको बताएका छन्।

बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताए।

एमाले नेपाली जनताको आकांक्षा र सपना पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्तिका रूपमा उभिएको पोखरेलले बताए।

नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा चौतर्फी घेराबन्दीका बाबजुद पनि एमालेले लोकप्रिय मत प्राप्त गरेको उनले महाधिवेशनमा जानकारी गराए। ‘चुनावमा हामीले संसदमा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौं। तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूका निरन्तर आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सिट गुमायौं। एउटै दलको सरकार बनाउन संसदमा एउटै दलको बहुमत छैन। त्यसैले जनताको जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ पोखरेलले भने।

एमालेले वाम दलहरु एकजुट भएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सिर्जना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको उनले बताए। ‘हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौं, उच्च नैतिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौं’ उनले भने।

एमालेलाई नेपाली जनताको समर्थनको बढ्दो लहरले नेपाली जनतामा एमालेको बढ्दो लोकप्रियतालाई जनाउने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले अनुभव सुनाए, ‘यी उपलब्धिहरु हामीलाई उपहारका रूपमा आएका होइनन, हाम्रा सङ्घर्ष, धैर्यता र हाम्रा मार्गदर्शक सिद्धान्त र कार्यक्रमहरू–जनताको बहुदलीय जनवाद र हाम्रो राष्ट्रिय महत्वाकांक्षा–समृद्धिको उपलब्धिका रूपमा आएका हुन्।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाई महाधिवेशनमा आमन्त्रण गरेकोमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आभार व्यक्त गरे।

सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै उहाँले बंगलादेशले विगतका वर्षहरूमा गरेका उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी भएको बताए।

नेपाल र बंगलादेशबीच ५० वर्षको समस्यामुक्त र उत्कृष्ट कूटनीतिक सम्बन्ध रहेको उनले बताए। 

दुवै देश कठिन समयमा एकसाथ उभिएको र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा एकअर्कालाई समर्थन गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .