ad ad

राजनीति


संसदमा देउवाको सम्बोधन : कांग्रेसको नेतृत्वमा जस्तोसुकै समस्याको समाधान भएको छ

संसदमा देउवाको सम्बोधन : कांग्रेसको नेतृत्वमा जस्तोसुकै समस्याको समाधान भएको छ

संसदमा सम्बोधन गर्न जाने क्रममा देउवा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:१९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको अपेक्षा र पार्टीका नेता–कार्यकर्ताहरुको भावनाअनुसार काम गर्ने बताएका छन्। 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले जनताको अपेक्षा र नेता–कार्यकर्ताहरुको भावनाअनुसार काम गर्ने बताएका हुन्।  

सभापति देउवाले कांग्रेसको पक्षमा मतदान गर्ने आमनागरिकको विश्वासमा ठेस लाग्ने नदिने पनि बताए। 

‘म सम्पूर्ण दाजूभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईंले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौं,’ उनले भने, ‘नेपाली कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावनाअनुसार काम गर्नेछ। हाम्रा असंख्य शहिदहरुको त्याग, तपस्या र बलिदानवाट हामीले प्रेरणा पाएका छौँ।’ 

देउवाले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेकोमा खुशीसमेत व्यक्त गरे। 

‘नेपाली कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने। 

कांग्रेसको इतिहास स्मरण गर्दै देउवाले देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आए पनि कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको जिकिर गरे। 

‘यो सुनौलो इतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिइरहने छ। देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं,’ उनले भने, ‘म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु सहिदहरुको बलिदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिइने छैन।’ 

संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने लक्ष्यमा अविचलित रुपले लागिरहने पनि देउवाले प्रतिवद्धता जनाए। 

‘देश र जनताको बृहत्तर हितमा काम गर्ने छौँ। यो प्रतिनिधि सभामा नेपाली नेपाली कांग्रेस एकतावद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ,’ उनले भने, ‘जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .