केही दिनअघिको संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थालाई लिएर चर्को टिप्पणी गरेपछि नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध खनिएका छन्।
शाहीले शान्ति प्रक्रियालाई पूर्णता दिने नाममा गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई माफी दिन नहुने बताएपछि माओवादी नेताहरुको आक्रोश बढेको हो।
शाहीले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकैअगाडि माओवादी जनयुद्धलाई आपराधिक युद्धको संज्ञा दिएका थिए।
'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक' प्रतिनिधिसभामा पेश हुने क्रममा शाहीले विरोधको सूचना दिएर बोलेका थिए। उनले त्यक्रममा अपराधीहरुलाई उन्मुक्ति दिन विधेयक ल्याइएको भन्दै कडा आलोचना गरेका थिए।
शाहीले सम्बोधनका क्रममा यो विधेयक मानव अधिकारका विश्वव्यापी मान्यताविरुद्ध रहेको बताएका थिए। युद्धकालीन घटनालाई फौजदारी मुद्दासँग जोडेर बोलेपछि उनीविरुद्ध माओवादी नेताहरु खनिएका छन्।
खासगरी अहिले प्रचण्डनिकट नेताहरु शाही र उनी आवद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध खनिएका हुन्।
एकजना माओवादी नेता हिमाल शर्माले शाहीलाई सम्हालिएर बोल्न भन्दै घुमाउरो भाषामा चेतावनी दिएका छन्।
शाहीलाई शर्माले दरबार हत्याकाण्डका अभियुक्तलाई राजा घोषणा गर्दा मानव अधिकार रक्षा भए नभएको प्रश्न गरेका छन्।
'ज्ञानेन्द्र शाही भाइ तपाईँ धेरै नकुर्लेकै राम्रो! दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले गरायो भन्छौ होइन र? अनि तिनै हत्यारा भनिएका दीपेन्द्रलाई मृत्यु शैयाबाट किन राजा घोषणा गरेको त? एक पटक सोध्नु त तपाईको आदर्शलाई,' उनले भनेका छन्।
शर्माले यो प्रकरणलाई राजतन्त्रात्मक व्यवस्थाको भद्दा मजाक भनेका छन्। उनले राजाको शासनमा जतिसुकै ठूलो अपराध गरे पनि राजदरबारका सदस्यलाई उन्मुक्ति दिएर कानुनभन्दा माथि राख्ने गरिएको प्रसंग पनि झिकेका छन्।
२४० वर्षे राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न थुप्रै काण्ड गराइएको पनि उनले बताएका छन्। 'अहिले ठूला कुरा गर्नुको अर्थ हुँदैन। इतिहास पढेको सबैलाई थाहा छ, २४० वर्ष राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न कति कति काण्ड घटे!', उनले भनेका छन्, 'आज जनताका छोराछोरी जोसुकै होस् राष्ट्रपति बन्न पाउने अधिकार पाएका छौँ! यो उपलब्धिको सम्मान गरौ! सम्यम भएर बोलौँ!'
शाहीविरुद्ध प्रचण्डका अर्का निकट नेता रामप्रसाद सापकोटा दीपशिखा पनि खनिएका छन्। माओवादीका अर्का युवा
वाईसीएलका पूर्वअध्यक्ष दीपशिखाले शाहीलाई अराजक नहुन चेतावनी नै दिएका छन्।
गणतन्त्रकै कारण शाहीले संसदमा बोल्न पाएको भन्दै जथाभावी नबोल्न उनले चेतावनी दिएका हुन्।
‘सदनमा प्रधानमन्त्रीका अगाडि तिमी अन्टसन्ट चिच्याइरहेका छौ नि! यो तिमीले भगवान् मानेका राजाले दिएको अधिकार होइन, छातिमा गोली थापेर लडि ल्याएको अधिकार हो,' उनले भनेका छन्।
त्यसबेला बोल्दा राजाले गोली हान्न आदेश नै दिएको प्रशंग पनि उनले निकाले। 'तिम्रा राजाले त बोलेवापत गोली ठोक्थे। हामीले लडी ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिस्पर्धा गर्न पाउँछन्! यसका लागि रत्तिभर योगदान नभएका तिमीहरूले इमान छ भने लाज मानी-मानी बोल्नुपर्छ,' उनले भने।
सापकोटाले शाहीलाई मानव अधिकारका चर्का कुरा नगर्न पनि चेतावनी दिएका छन्। 'कुन मानवअधिकारको कुरा गरेको? नमिता, सुमिता कि वीरेन्द्रको वंशनाशको?', उनले भनेका छन्, 'कि मैना सुनुवारको? हुती छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने?'
Shares
प्रतिक्रिया